logo
२०८१ मंसिर १३ बिहीवार



खीर खान मान्दैनन् चेपाङ बालबालिका

समाज |


खीर खान मान्दैनन् चेपाङ बालबालिका
सांकेतिक तस्विर


चितवन, माघ २१ गते । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।
जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत परिचालन गर्ने गरिन्छ । स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्दै आएको छ । यसले गर्दा खाजाको लोभले विद्यार्थी बीचैमा कक्षा छाड्दैनन् ।

दिवा खाजामा विविधता दिन समयसमयमा खीरसमेत बनाइन्छ । चेपाङ बालबालिकाले खीर भने खान मान्दैनन् । कालिका आधारभूत विद्यालय निबुवाटार सिद्धिका प्रधानाध्यापक जीतबहादुर भट्टराई दिवा खाजामा खीर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउनुहुन्छ ।

उहाँको विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन् । नियमित विद्यालय हाजिर हुने विद्यार्थीको सङ्ख्या १४० जना छ । भट्टराईले भन्नुभयो, “घरमा खीरको स्वाद नलिएकाले विद्यालयमा पनि खान मान्दैनन् ।” खीर नचिनेकै कारण विद्यार्थीले नखाने गरेको उहाँको भनाइ छ ।
कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खीर खाजामा राख्दा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसम अनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउनुहुन्छ ।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खीर खाने परिपाटी नहुँदा विद्यार्थीलाई दिवा खाजामा खीर खुवाउन नसकिएको बताउनुहुन्छ । यहाँ रहेका ३५ वटा विद्यालयमा एक हजार ७७८ जना चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ ।

नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने चार हजार ६५९ जना विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । दिवा खाजामा उनीहरुलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ ।

विद्यालयले खाजामा खिर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन् । विद्यार्थीले दिवा खाजामा स्थानीय उत्पादन गरिएको तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उहाँले जानकारी दिनुभयो ।
खाजा मीठो हुँदा विद्यार्थी आउने र नमिठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उहाँले बताउनुभयो । कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उहाँले जानकारी दिनुभयो ।

पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले रु ८७ लाख २१ हजार बजेट विनियोजन गरेको छ । खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौ । सोही अनुसार विद्यालयले खुवाउँछन् ।”

जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोबास छ । ग्रामीणक्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि धान्दैन । मेलापात र कन्दमूलले परिवार पाल्नुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?