logo
२०८१ मंसिर १३ बिहीवार

   गरीबीमा डुवेका टुहुराकाे व्यथा  

 


 गरिबीमा डुबेका टुहुराकाे व्यथा : भोक लागे माटो, जाडो हुँदा आगो र घाम तापेर गुजारा

समाज |


 गरिबीमा डुबेका टुहुराकाे व्यथा : भोक लागे माटो, जाडो हुँदा आगो र घाम तापेर गुजारा


गोकर्ण दयाल
बैतडी, फागुन २ गते । दश वर्षीया सविता, नौ वर्षकी सुनीता र पाँचवर्षकी रमिला टुहुरा बालिका हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ । घरमा खाने अन्न छैन । भोक लागे माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने ओछ्याउने कपडा छैन । दिउँसो घाम तापेर अनि राति आगो बालेर बस्ने गरेका छन् ।
यो कुनै चलचित्रको कथा होइन, बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा बालिकाको कथा हो । विपन्न गरिब कथित दलित परिवारमा जन्मेका तीन बहिनी विद्यालय पनि जाँदैनन् । बुवा सालिभान नेपालीको उपचार नपाएर तीन वर्ष अघि मृत्यु भयो । रोगी आमा अन्न माग्न गाउँ डुल्न जानु भएको छ ।

गाउँ डुलेर अन्न माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँचवर्षीया कान्छी रमिलाभोक लागे माटो खाने गरेको १० वर्षीया सविता नेपालीले पीडा सुनाउनुभयो । दलित भएका कारण अन्य समुदायका मानिसले बालिकाहरुलाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । बरु,कहिले काँकी एक गास अन्न खान दिए पनि सहारा दिन कसैले मानेका छैनन् ।
पोहोर साल फुसले छाएको घर भत्केपछि मर्मत गरिदिएको स्थानीय गोरे बोहराले बताउनुभयो । कपडा सिलाएर बाल बच्चा पाल्दै आएको सालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहराले बताउनुभयो ।
बोहराले भन्नुभयो, “ बालिकाहरुको घरको अवस्था एकदमै नाजुक छ । लुगा सिलाएर अन्न मागेर परिवारको गुजारा गर्ने सालिभान दमाईको मृत्युपछि परिवारको बिचल्ली भएको हो । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाही छाक टार्ने गरेका छन् । आज पनि आमा कता गाउँतिरै गएकी छिन् । भएको बेला हामीले पनि एक गाँस दिने गरेका छौं ।” पेटभरि खानखा नपाएको दिन रमाइलो हुने गरेको १० वर्षीया जेठी दिदी सविता नेपालीले बताउनुभयो । लगाउने लुगा र रातिओढ्ने कपडा नहुँदा आगो बालेर निदाउने गरेको सविताले बताउनुभयो ।
“आकाश खुलेको दिन दिउँसो घाम ताप्छौं । राति आगो बाल्ने गरेका छौं । निदाएको बेला कहिलेकाँही त हात पोलिन्छ,” सविताले भन्नुभयो, “आमा पल्लो गाउँमा मकै माग्न जानुभएको छ । आएपछि जातोमा दलेर खोले पकाउने भन्नुभएको छ ।”

आफ्नो कोही नभएका कारण स्कुल पढ्न नसकेको सविता बताउनुहुन्छ । बुवा बितेपछि खाने अन्न नभएकोले आमाले अब मामा घर बझाङ्को बुगल जाने भन्नुभएको सविताले बताउनुभयो ।
सिगास गाउँपालिकाका अधिकांश दलित परिवारसँग जग्गाजमिन छैन । परम्परागत पेशा गरेर खलो ( बालिघरे) प्रथामै काम गर्ने गरेको स्थानीय सुरेन्द्र साउदले जानकारी दिनुुभयो ।
बिचल्लीमा परेका बालबालिकाका बारेमा गाउँपालिकामा कुनै जानकारी नआएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । वडाबाट केही जानकारी आएमा छलफल गर्ने अध्यक्ष धामीले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?