logo
२०८१ मंसिर १२ बुधवार

  तराइमा राखी बाँध्न नपाएका चेलीको पीडा  



कोरोनाले छेक्यो, वैदेशिक रोजगारीले टाढिए, प्रविधिले केही राहत दियो

समाज |


कोरोनाले छेक्यो, वैदेशिक रोजगारीले टाढिए, प्रविधिले केही राहत दियो


लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ ६ गते । रक्षाबन्धनका दिन जनकपुरधाम–२५ की रेखा यादवको मन खिन्न हुन्छ । दुःखकष्ट र पीडाले उहाँको अनुहार अँध्यारो हुन्छ । चार वर्षदेखि कतारमा रहेका भाइ रमेशको सम्झनाले हुँडल्छ उहाँको मनमस्तिष्कलाई । उहाँ भन्नुहुन्छ, ‘राखीको अघिल्लो दिन बजार चहारेर अलिक नयाँ र आकर्षक रक्षासुत्र किन्ने गर्थें । भोलिपल्ट एकाबिहान माइत पुगेर बिहान साइतकै बेला भाइको हत्केलामा बाँध्थें राखी । वर्षौं भए भाइको हत्केलामा राखी बाँधिरहँदाको स्नेह र सौहाद्र अनुभूति हुन छाडेको ।’
यादवका भाइ चार वर्षअघि वैदेशिक रोजगारका लागि कतारतर्फ लागेका थिए । उहाँका अर्का भाइ मनोज भारतको दिल्लीमा चाटर्ड एकाउन्टेन्टको पढाइ गर्छन् । संयोग नै भनौं उहाँका श्रीमान् विनोद यादव पनि कामकै सिलसिलामा साउदी अरेबियामा छन् । ‘अरू बेला श्रीमान्को याद आउँछ, उहाँकै बारेमा चिताएर बस्छु । तर, रक्षाबन्धनका बेला दाजुभाइको बेस्करी सम्झना आउँछ । राखी बाँध्नका लागि उनीहरू आउन सक्दैनन् भन्ने थाहा हुँदाहुँदै उनीहरूकै पर्खाइँमा दिन बित्ने गर्छ ।’
राखीका दिन माइतीघरको डगरमा आँखा बिछ्याउन थालेकी रेखा एक्ली हुनुहुन्न, उहाँजस्ता सयौं महिला छन् । जसका दाजुभाइ वैदेशिक रोजगारमा हुनुहुन्छ । गरीबीको गद्दरमा अल्झिएकाहरूको गन्तव्य खाडी देश बनिरहेका बेला रक्षाबन्धनमा दिदीबैनी वा भाइबैनीको भौतिक उपस्थिति नहुनुले छातीको बिझाइ हुने गरेको अधिकांशको अनुभव छ ।
घरपरिवारलाई खुसी दिन गीता चौधरी देश छाडेको जम्माजम्मी पाँच वर्ष भयो । उहाँ बहराइनमा ब्युटी पार्लरमा काम गर्नुहुन्छ । रक्षाबन्धनका दिन उहाँ मध्यपूर्वी त्यो देशको चकाचौंधमा आफूलाई भुलाउन सक्नुभएन । पार्लरमा अरूलाई सिंगारपटार गरी कायालाई तेजिलो बनाइरहँदा आज उहाँको अनुहार फुस्रो भएको छ । ओभाएका आँखाले नेपालमा रहेका भाइ जोसनलाई व्हट्स एपमार्फत फोन गरी उहाँले आफ्नो नाउँमा राखी बाँध्न भन्नुभयो । जोसन पनि भारी मनले दिदीसँग राखी बाँध्न लगाउने विगतका क्षण सम्झेर आफैंले किनेका राखी हातमा बाँध्नुभयो ।
राखीका दिन प्रत्यक्ष भेटघाट नहुने दाजुभाइहरूका लागि दिदीबहिनीहरूले फोनमार्फत नै आफ्नो नाउँमा रक्षासुत्र बाँध्न आग्रह गर्ने गरेको चलन बढ्दो छ । वैदेशिक रोजगार, आन्तरिक रोजगार र लेखपढका लागि दाजुभाइ तथा दिदीबहिनीहरूहरू प्रायः घर फर्कन नसक्ने र पारिवारिक बोझका कारण विवाहिता दिदीबैनी प्रायः माइत आउन नसकेर राखी बाँध्न नसक्ने अवस्था भएकाले यसरी फोन कलमार्फत नै दिदीबैनीले दाजुभाइलाई राखी बाँध्न आग्रह गर्ने गरेको पाइन्छ ।
देशको दक्षिणी भेगमा देशपार विवाहको परम्परा छ । सीमा वारिपारि छोरी दिने चलन छ । यसपटक कोरोनाको सन्त्रासभन्दा सरकारी प्रोटोकलका कारण पनि धेरै चेलीहरू नेपालस्थित माइत आउन पाएनन् । जनकपुरधाम–७ की सरिता साहको बिहा सीमापारि मधुबनी जिल्लाको कलुआहीमा भएको छ । जनकपुरधामबाट खासै दुरीमा छैन कलुआही । तर, भारत सरकारले सीमा वारपारमा कडाइ गरेका कारण उहाँ अरू वर्षझैं यसपालि पनि दाजुभाइलाई राखी बाँध्न नेपाल आउन सक्नु भएन । ‘पाहोर साल पनि कोभिडकै कारण आउन पाइएन, यसपटक पनि त्यसैका कारण । बिहा भएको दशकभन्दा बढी समययता रक्षाबन्धनका बेला पनि माइत आउने गरिन्थ्यो । त्यस निहुँमै जन्मघरका सबैसँग भेट हुन्थ्यो । अव त्यो अवस्था पनि रहेन,’ उहाँले फेसबुक कलमार्फत भन्नुभयो । प्रेम, सद्भाव र समर्पणको यो पर्वमा उहाँको मन खल्लो छ । आइतबार बिहान गहभरि आँसु लिएर नेपालमा रहेका दाजुभाइसँग उहाँले ब्हाट्स एप कलमार्फत रक्षासुत्र बाँध्ने काम गर्नुभयो ।
‘दिदीसँग राखी बाँध्न लगाउने काम एउटा आभाषी प्रक्रियामार्फत सकाएको छु । एकतिर दिदीले हातमा राखी लिनुभयो । यता म त्यस्तै अर्को राखी आफ्नो हत्केलामा बाँधे । उहाँले लड्डु खुवाउनेजस्तो गर्नुभयो, यता म लड्डु खाएँ । थोरै दुःख र थोरै आनन्द अनुभूतिका साथ रक्षाबन्धन मनाएँ,’ सरिताका भाइ श्यामले भन्नुभयो ।
लेखेर वा बोलेर मनको बह पोख्न निकै सशक्त र विश्वासिलो माध्यम बन्दै गएको सामाजिक सञ्जाल संस्कृति र परम्परा निरन्तरताको दृष्टिले पनि महत्वपूर्ण हुँदै गएको छ । विभिन्न कारणले परिवारका सदस्यहरू टाढिन थालेपछि सामाजिक सञ्जालबाट हुने भिडियो कलमार्फत एक ठाउँमा भएकै जस्तो पर्वका रमाइला क्षणहरू साझा गर्न थालिएको छ । ‘संयुक्त परिवारको विघटन, गाउँठाउँबाट पलायनजस्ता समस्या सामान्य भइसकेको अहिलेको आर्थिक युगमा चाडपर्व मनाउन डिजिटल प्रविधिले निकै मद्दत पु¥याएको छ,’ मिथिलाञ्चलकी प्रसिद्ध गायिका सुनिता साहले भन्नुभयो । उहाँले प्रत्यक्ष भेटेर पर्व मान्नेजस्तो उल्लास, आनन्द र रौनक आभाषी माध्यमबाट नभए पनि यसबेला संवादहीनताको स्थितिलाई अन्त्य गरी एकअर्कालाई देखेरै शुभकामना साटासाट गर्न सक्ने प्रविधिले फराकिलो हुँदै गएको सम्बन्धको दूरी मेटेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?