logo
२०८१ मंसिर ७ शुक्रवार



बिरामी ओसार्न स्टेचरकै भर

समाज |


बिरामी ओसार्न स्टेचरकै भर
सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँबाट बिरामी स्टेचरमा बोकेर बिरामीलाई स्वास्थ्य चौकीमा लगिँदै । तस्बिर - राजन रावत, हुम्ला


राजन रावत
हुम्ला कात्तिक ३० गते । जिल्लाका अधिकांश गाउँबस्तीमा मानिस बिरामी पर्दा स्टेचरकै भरमा ओसार्नुगर्ने बाध्यता छ । ती गाउँमा हालसम्म सडक सञ्जाल जोडिन नसक्दा बिरामीलाई स्टेचर र मानिसले बोक्नुपर्ने बाध्यता आइलागेको हो ।

सर्केगार्ड गाउँपालिका–३ को उनपानी गाउँका स्थानीय जयबहादुर महताराले गाउँमा मानिस बिरामी पर्दा डेढ घण्टा पैदल स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले गाउँमा स्टेचर पनि बढी नहुने भएको कारण धेरै जना एकसाथ बिरामी हुँदा मानिस मिलेर बिरामी बोक्नुपर्ने बाध्यता समेत रहेको बताउनुभयो । उहाँले दुई दिन अगाडि एक जना सुत्केरी ब्यथा लागेकी महिलाको १४ घण्टापछि स्टेचरमा बोकेर प्रसुति गृहमा लग्नु परेको बताउनुभयो ।

उहाँले सो गाउँपालिका–१ को जैर गाउँबाट बिरामीलाई एक दिन लगाएर गाउँपालिका केन्द्र सर्केगार्डमा रहेको स्वास्थ्य चौकीमा ल्याउनुपरेको बताउनुभयो । यता चंखेली गाउँपालिका– ३ मिमी गाउँका धनलाल चौलागाईं तीन घण्टा समय लगाएर स्टेचरमा बोकेर बिरामी स्वास्थ्य चौकीमा लग्नुपरेको बताउनुभयो । उहाँले सो गाउँमा सडक निर्माण भएको भए पनि लोती कर्णालीमा पुल नबन्नु र गाउँपालिका भरि एम्बुलेन्स नभएको कारण बिरामीलाई स्टेचरमा बोक्नुको अन्य बिकल्प नभएको बताउनुभयो ।

यो समस्या यी दुई गाउँपालिकाको मात्र नभएर जिल्लाका सात वटै गाउँपालिकामा उस्तै छ । स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले सडक सञ्जाल नजोडिएको कारण गाउँबाट बिरामी ल्याउन स्टेचर भरपर्दो साधन भएको बताउनुभयो । उहाँले यसरी बिरामी बोक्ने कार्य गाउँमा मात्र नभएर जिल्ला अस्पतालमा समेत गाउँबाट बिरामी बोकेर ल्याउने कार्य भइरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा कार्यालय, गाउँपालिका र विभिन्न गैससबाट स्टेचर सहयोग गाउँगाउँमा पुगेको कारण बिरामी बोक्न भने सहज भएको बताउनुभयो । यसरी बिरामीलाई नजिकबाट स्टेचरमा बोक्न सजिलै भए पनि टाढाबाट बोकेर ल्याउन भने समस्या हुने गरेको पीडित पक्षको गुनासो छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?