सिराज खान
नेपालगञ्ज, मङ्सिर ७ गते । बाँकेमा मंगलबार १२ वर्षदेखि १७ वर्ष सम्मका एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदैछ ।
एक हजार बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउन लागिएको जिल्लाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिने गरी जन्ममिति खुलेको वा उमेर खुल्ने प्रमाणपत्रका आधारमा खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
अधिकृत श्रेष्ठका अनुसार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप दिइनेछ । सोमबारसम्म दीर्घरोगी तथा १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरु गरेर ६५० जनालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
फाईजर खोप यसअघि कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने कार्यक्रम तय गरिएको भएपनि खोप बाँकी भएपछि मङ्सिर ७ गते अर्थात् मंगलबारसम्म लगाइने भएको हो ।
खोप लगाउन १२ देखि १७ वर्ष उमेरका ठूलो संख्यामा बालबालिकाहरु भेरी अस्पतालमा पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।