गोकर्ण पौडेल
तुल्सीपुर, मङ्सिर २६ गते । दुर्गाबहादुर खत्रीले ७० वर्ष पुगेपछि सामाजिक सुरक्षावापत् सरकारले उपलब्ध गराउने भत्ताका लागि आवेदन दिनुभयो तर तीन वर्षसम्म रकम लिनुभएन । आफूलाई पुग्ने सम्पत्ति भएको, सरकारको रकम किन लिने यस्तै प्रश्न उब्जियो खत्रीको मनमा । तर गाउँ समाजमा धेरैले रकम लिनुहोस् असहाय र सामाजिक कार्यमा लगाउनुहोस् भनेपछि उहाँले एक दशक यता रकम बुझ्दै आउनुभएको छ । खत्रीले रकम बुझेपछि आफ्नो व्यक्तिगत कार्यका लागि रकम खर्चिनुभएको छैन । त्यो रकम विभिन्न सामाजिक कार्यमा उपयोग गर्दै आउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का ८३ वर्षीय दुर्गाबहादुर खत्रीले वृद्वभत्तावापत्काे रकमले विद्यालयको भवन निर्माणदेखि प्रतीक्षालय निर्माणसम्मका काममा उपयोग गर्दै आउनुभएको छ । खत्रीले भन्नुभयो ‘ मैले कहाँ कति खर्च गरे हिसाब राखेको छैन तर भत्ता बुझेपछि साथमा राख्दैन्, सामाजिक सेवामा उक्त रकम खर्च गर्ने गरेको छु ’ ।
उहाँले प्रतीक्षालय, बाटो, कुवा,विद्यालय, देवालय, सिँचाई कुलो, दाहसंस्कारस्थल निर्माणमा रकम उपलब्ध गराउँदै आउनुभएको छ । यस पटकको भत्ताले घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको जेष्ठनागरिक सेवा केन्द्रमा पुगेर न्यानो कपडा वितरण गर्नुभएको छ ।
यस पटकको भत्ता आएको रहेछ,बैङ्कबाट झिके सबै पैसाले न्यानो कपडा किनेर त्यहाँ रहेका आफूजस्तै जेष्ठ नागरिकहरुलाई वितरण गरे खत्रीले भन्नुभयो । उहाँले १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
खत्री २०४७ सालदेखि कुलो सिँचाईका अध्यक्ष भएर काम गरिरहनुभएको छ भने करिब २० वर्षसम्म पकर्रे सामुदायिक वनको अध्यक्ष भएर काम समेत गर्नुभएको छ । पञ्चायत कालमा वडा सदस्यसमेत रहेका खत्रीले करिब १५ वर्ष व्यापार व्यवसाय समेत सञ्चालन गर्नुभएको थियो ।
अहिले भने उहाँले चमइ खोला झारी भर्ने सिचाई जल उपभोक्ता संस्थाको अध्यक्ष भएर काम गरिरहनुभएको छ । खत्रीले भन्नुभयो ‘अरुलाई दिनु जत्तिको सन्तुष्टि मैले संसारमा अरु काम गर्दा देखिन त्यसैले अब कमाएर कसलाई राखिदिने, मरेर लैजानु केही छैन त्यसैले आत्म सन्तुष्टिका लागि समेत सहयोग गर्दै आएको छु ’ ।