गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । सिसडोल ल्याण्डफिल साइटमा जाने बाटोमा गरिएको अवरोधले रोकिएको उपत्यकाको फोहोर फाल्ने काम बुधबारदेखि सुचारु भएको छ।
मङ्सिर १२ गतेदेखि अवरुद्ध रहेको काठमाडौंको फोहोर फाल्ने काम बुधबारदेखि सुरु भएको हो । वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार आजदेखि काठमाडौंको फोहोर नियमित उठ्ने भएको हो । ‘१२ दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर फाल्ने काम आजदेखि सुरु भएको छ’, उहाँले भन्नुभयो ।
गत भदौमा बाटो बनाउने शर्तसहित सिसडोलका स्थानीयले फोहोर फाल्न दिएका थिए । अहिलेसम्म बाटो नबनेपछि पुनः स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए । लामो समय फोहोर उठ्न नसक्दा उपत्यकाका मुख्य सडक क्षेत्र र भित्री गल्लीमा फोहोर थुप्रिएको छ । सिसडोल ल्याण्डफिल साइटमा फोहोरको ढिस्को भासिएर बाटो अवरुद्ध भएपछि स्थानीय आक्रोशित भएका हुन् ।
२०६२ जेठ २२ गतेबाट सो क्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थलिएको हो । ‘साइटले तीन वर्षसम्म धान्ने अनुमान थियो, तर १५ वर्षसम्म सिसडोल ल्याण्डफिल साइटमै फोहोर व्यवस्थापन गरिँदै आएकाले विकल्प खोज्न जरुरी छ,’ राईले भन्नुभयो, ‘बन्चरे डाँडामा निर्माण हुन लागेको ल्याण्डफिल साइट अझै पूरा भएको छैन, कोची–कोची सिसडोलमै फाल्नुपर्ने अवस्था छ ।’ बन्चरे डाँडाको ल्याण्डफिल बन्न अझै समय लाग्ने उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहले नेपालको प्रचलित ऐन विपरीत फोहोरमैला व्यवस्थापनको काम गर्दै आएका छन् । फोहोर व्यवस्थापन ऐन–२०६८ को दफा ३ ले फोहोर मैलाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।
सोही ऐनको दफा ६ मा फोहोरमैलाको पृथकीकरण व्यवस्थाअन्तर्गत स्थानीय तहले फोहोरलाई कम्तीमा जैविक र अजैविक गरेर फोहोरको स्रोत छुट्याउने गरी तोक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्था लागू भएको छैन ।