logo
२०८१ मंसिर ९ आईतवार



धाराको पानी बरफ बनेपछि..

समाज |


धाराको पानी बरफ बनेपछि..
ढोरपाटन उपत्यकामा जमेको हिउँ । तस्बिर सौजन्य वीरबहादुर थापा


नवीन शिशिर विक

बागलुङ, पुस १६ गते । ढोरपाटन सिकार आरक्षण केन्द्र जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बुर्तिवाङ–ढोरपाटन सिकार आरक्ष सडकखण्डको बोवाङको फल्ले घरदेखि ढोरपाटन उपत्यका सडक क्षेत्रमा बाक्लो हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको हो । ढोरपाटन उपत्यका क्षेत्रमा बसोबास गर्ने नागरिक घरमै थुनिएका छन् ।

अन्यत्रदेखि ढोरपाटन जाने स्थानीय तथा पर्यटक पनि रोकिएका छन् । सडकमा तीन फिटदेखि माथि हिउँ जमेको ढोरपाटनस्थित ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो । बाक्लो हिमपातपछि ढोरपाटन क्षेत्रमा सञ्चालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

ढोर क्षेत्रका विद्यालय हरेक वर्ष पुस १५ गतेदेखि बन्द हुन्छन् । यो वर्ष पुस १४ गते हिउँ परेको हुँदा एक दिन अघि नै विद्यालय बन्द गर्नुपर्ने बाध्यता भयो । ढोरपाटन क्षेत्रका विद्यालयमा बर्खे बिदा हुँदैन । हिउँदमा ४५ दिन जाडो बिदा गर्ने चलन छ ।

मङ्गलबार रातिदेखि भारी हिमपात हुँदा ढोरपाटन नगरपालिका–९ नेपानेमा रहेको नेपाल टेलिकमको टावरलाई विद्युत् उपलब्ध गराउने सोलार प्यानमा हिउँ थुप्रिँदा तीन दिन सञ्चार सेवा अवरुद्ध भएको थियो । ढोरपाटन सिकार आरक्ष क्षेत्रको शत्रुमर्दन गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले सोलार प्यानलको हिउँ हटाएपछि सो क्षेत्रमा सञ्चार सेवा सुचारु भएको छ ।

अत्यधिक चिसोको कारण धारामा पानी जम्दा स्थानीयले आगोमा हिउँ पगालेर प्रयोग गर्न बाध्य भएको विकले बताउनुभयो । दिउँसोको समय धारोमा पानी आउने गरे पनि बिहान बेलुकी बरफ बन्छ ।

विद्यालय बन्द भएपछि बेसी झर्ने पर्खाइमा रहेका विद्यार्थी तथा उनका अभिभावक सडक अवरुद्ध हुँदा ढोरपाटनमै थुकिएका छन् । डोजर प्रयोग गरेर सडक खुलाउनुपर्ने शिक्षक विकको भनाइ छ । हिउँ पग्लेर सडक सञ्चालन हुन कठिन हुने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?