काठमाडौं, पुस २५ गते । कलङ्कीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।
मृतक विष्ट ललितपुर बस्दै आउनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो। ठक्करबाट सख्त घाइते उहाँको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोबीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचारपछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०/४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।