शिवराज योगी
आज पनि डोटीको कपल्लेगी गाउँमा विकासका सबै प्रारूप तयार भइसकेका छैनन् । सामान्य सडक, माध्यमिक शिक्षा र बत्तीको उज्यालोसम्म पुगे पनि आधुनिक विकासका सबै पूर्वाधार यो गाउँमा पुगेको देखिँदैन ।
हुन त मुलुक सङ्घीयतामा गइसकेको छ । नजिकै सङ्घीय सरकार र स्थानीय विकासका लागि गाउँमै सिंहदरबार छ । र पनि सुदूरपश्चिमको यो सुदूर गाउँ अझै विकट नै हो भन्दा अतिसयोक्ति नहोला ।
हो यही गाउँले जन्माएको हो, डा. गुणाकर भट्ट । जो यतिबेला नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक र यही पुस १ देखि दोस्रो पटक राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारीमा छन् । विकट गाउँको सामान्य परिवारमा जन्मिएर जीवन निर्वाहको सरल बाटो पक्रिएका भट्टले एकाएक यहाँसम्मको यात्रा तय गरेको चाहिँ होइन । पढ्दै, पढाउँदै, एकपछि अर्को चुनौतीसँग पौठेजोरी खेलेर मिलेको ओहदा हो यो ।
गाउँमा सँगैका दौँतरीभन्दा उनको चेतना र समझको स्तर केही फराकिलो थियो । त्यो किन पनि भने शिक्षक पिताजी लीलाधर भट्टले उनलाई देश, विदेशका सूचना, समाचार, प्रगति र अवसरका विषयमा जानकारी गराइदिने गर्थे । गाउँकै केदारेश्वर माविबाट एसएलसी उत्तीर्ण गरेका भट्टले त्यसपछिको यात्रा भने विद्यार्थीका रूपमा मात्रै गरेनन् । एक अब्बल शिक्षकका रूपमा पनि आफूलाई स्थापित गर्दै लगे ।
आजका बैङ्क प्रशासक, कुनै दिनका शिक्षक
“पढ्दै पढाउँदै मेरो जीवनले लय पक्रिएको हो,” डा. भट्टले भने, “आई कमको परीक्षा दिएर गाउँ गएकै बेला मैले डोटी सिमचौरको पोखरी गाउँमा रहेको अमर प्राविमा पढाउन सुरु गरेको थिएँ ।”
२०४८ सालमा भट्ट आफैँ १७/१८ वर्षको ठिटो हुँदा गाउँदेखि कोसौँ टाढा विद्यार्थीलाई शिक्षादीक्षा दिन निस्किए । “त्यो सायद एकातिर शिक्षक पिताजीको प्रेरणा थियो, अर्को कुरा पारिवारिक आर्थिक अवस्थालाई टेवा पु¥याउने उद्देश्य पनि थियो होला,” उनले भने ।
जिल्ला शिक्षा कार्यालयले लिएको परीक्षामा नाम निकालेर पोखरीमा पढाउन थालेको यात्रा धेरै लामो भने भएन । उनी एक वर्ष अध्यापन गरेर त्यहाँबाट बिदा भए, कारण थियो स्नातक तहको अध्ययनलाई अगाडि बढाउनु । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह पढ्दैगर्दा उनले सुरुमा अत्तरियामा रहेको पुष्पाञ्जली स्कुल र पछि धनगढीकै ग्यालेक्सी स्कुलमा पढाउन सुरु गरे ।
यही बन्छु भन्ने कुनै योजना र सपना नबुने पनि आज देशको मौद्रिक नीति तर्जुमा, आर्थिक अनुसन्धान र आर्थिक विषयको टिप्पणीकारको भूमिका निर्वाह गर्नुपूर्व डा. भट्टको यात्रा शिक्षण पेसामै जारी रह्यो ।
आफू त्रिभूवन विश्वविद्यालयको सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए गरिरहँदा उनले वीरेन्द्र सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा स्थायी शिक्षकका रूपमा पढाउन थाले । त्यसपछि एमबीएमा सर्वोत्कृष्ट स्थान प्राप्त गरी स्वर्णपदक हासिल गरे उनले । त्यसको केही समयपछि करिब एक वर्ष मीनभवन क्याम्पस र केही समय सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा पनि पढाए । काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा पढाउँदा उनले तत्कालीन राजकुमार निराजन वीरविक्रम शाहलाई समेत अध्यापन गराए । त्यस क्रममा निराजनलाई पढाउन कैयौँ पटक दरबारसम्म पनि पुगेको उनी स्मरण गर्छन् । राजदरबार हत्याकाण्डमा आफ्ना विद्यार्थी निराजन पनि रहेको खबरले उनलाई निकै पीडाबोध भएको थियो ।
उसो त साहित्यिक मन भएका भट्टलाई समाजका हरेक सानासाना कुराले नछुने होइन । आफूले ३० वर्ष अघि एसएलसी दिएर छोड्दाको गाउँको मुहार अझै किन फेरिन सकेन ? भन्ने प्रश्नले उनलाई पनि पिरोल्ने गरेको छ । गाउँबाट सहरतिर भएको दु्रत बसाइँसराइ पहाडी बस्तीको विकास नहुनुको एउटा प्रमुख कारण हो भन्ने उनको बुझाइ छ । यसले पहाडका गाउँको विकासका लागि दबाब दिने काममा बाधा पु¥याएको उनको धारणा छ ।
त्यो मात्र होइन नेपालको ठूलो सम्भावना भएको पहाडी क्षेत्रलाई कसरी विकसित गर्ने भन्ने विषयमा पछिल्लो समय राजनीतिक दलबीच बहस नहुनु पनि समस्याको विषय भएको उनी देख्छन् । गाउँमा अवसर भएनन्, राम्रो शिक्षा भएन, ठूला पूर्वाधार तराईका सहर केन्द्रित भए, विश्वविद्यालय गाउँमा खुल्न सकेनन्, यही कारण गाउँ अझै पनि पछौटेपन सहिरहन बाध्य भएको उनको विश्लेषण छ ।
विभिन्न विद्यालय र कलेजमा करिब एक दशक पढाएका भट्टले २०५६ सालतिर कृषि विकास बैङ्कमा अधिकृतका रूपमा प्रवेश गरे । कृषि विकास बैङ्कमा जागिर थालेको केही समय हुँदै थियो त्यहीबेला राष्ट्र बैङ्कले विश्वविद्यालय टपरहरूबाट भ्याकेन्सी माग्यो । अनि त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा स्वर्णपदक विजेता भट्टले खुला प्रतिस्पर्धामा भाग लिए । उनको नाम निस्कियो । त्यसपछि २०५७ असार १ गतेदेखि उनीले राष्ट्र बैङ्कमा अधिकृतका रूपमा प्रवेश गरे ।
सेवा प्रवेशदेखि नै उनले राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागमा रहेर लामो समय काम गर्ने अवसर पाए । त्यहीबेला अमेरिकाको म्यास्याचुसेट्स राज्यमा रहेको विलियम्स कलेजले खोलेको छात्रवृत्तिमा उनको नाम निस्कियो । त्यहाँबाट स्नातकोत्तर गरेर उनी नेपाल फर्किए ।
“फर्केर मैले आन्तरिक प्रतियोगिताबाट अधिकृत द्वितीय अर्थात उपसचिव सरहको तहमा नाम निकालेँ,” उनले भने । उक्त जिम्मेवारीमा बसेर दुई वर्ष काम गरेपछि उनी फेरि विद्यावारिधिका लागि अमेरिका गए । अमेरिकाको मिसिगन राज्यमा रहेको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेर आएपछि उनी आन्तरिक प्रतिस्पर्धाबाट प्रथम श्रेणी अधिकृत भए ।
त्यसपछि उनी धनगढीस्थिति क्षेत्रीय कार्यालयको प्रमुख भएर गए । धनगढीबाट फर्केर उनले फेरि आर्थिक अनुसन्धान विभागमै निर्देशकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाए । त्यसताका उनले मौद्रिक नीति तर्जुमादेखि सरकारलाई आर्थिक सल्लाह दिने विषयमा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
२०७५ साल कात्तिकमा विशिष्ट श्रेणीमा बढुवा भएका भट्ट यतिबेला सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक र हाल दोस्रो पटक प्रवक्ताको जिम्मेवारीमा छन् ।
राष्ट्र बैङ्कजस्तो नियमनकारी निकायमा रहेर उनले सम्झनलायक काम के गरे त ? मौद्रिक नीति तर्जुमामा उनको भूमिका महìवपूर्ण रह्यो । कोभिडको समयमा आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गर्नमा उनले महìवपूर्ण भूमिका निर्वाह गरे । विभिन्न बैङ्कले मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने र त्यसमध्ये हरेक प्रदेशमा १० प्रतिशत खर्च गर्नैपर्ने नीति तर्जुमा गर्न पाउँदा आफूलाई निकै सन्तोष मिलेको उनी बताउँछन् ।
बैङ्कहरूको ब्याजदरसम्बन्धी व्यवस्था पारदर्शी बनाउने, ऋणपत्र निकाल्नैपर्ने व्यवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायसँगको समन्वय तथा सम्बन्ध प्रभावकारी बनाउन भूमिका निर्वाहदेखि बैङ्कहरूको वित्तीय स्थायित्वका लागि भूमिका निर्वाह मात्र होइन कोभिडको समयमा सबै सरोकारवालाले बुझ्ने गरी राष्ट्र बैङ्कको नीतिका बारेमा सूचना सम्प्रेषण गर्न समेत उनले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । स्वायत्त र कसैको दबाबमा नपरी काम गर्ने स्वभावकै कारण राष्ट्र बैङ्कले धेरै सकारात्मक कार्य गर्न सकिरहेको उनको बुझाइ छ ।
बैङ्कको जागिरेका रूपमा मात्रै बयान गरिरहँदा उनको परिचयमाथि अन्याय ठहर्न सक्छ । उनी एक अब्बल साहित्यकार र समाजसेवीका रूपमा पनि परिचित छन् ।
दुई वर्ष राष्ट्र बैङ्कको धनगढी शाखामा रहँदा विद्यार्थीकालमा जोडिएको सम्बन्धलाई उनले साहित्यिक गतिविधिमा झन् प्रगाढ बनाए । सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई थप माथि पु¥याउन उनको योगदान सदाकाल स्मरणीय रहेको साहित्य समाजको अहिलेको नेतृत्वले पनि सम्झना गर्ने गरेको छ । एक शिक्षक, त्यसपछिको बैङ्क प्रशासक, कसरी जोडियो साहित्यसँग साइनो ?
जसले गरेका थिए साहित्य समाजको न्वारन
यो कुरा अहिलेको पुस्तालाई थाहा नहुन सक्छ । जनताले जन्माएको देशभरमै हालसम्मको ठूलो र साहित्यिक गतिविधिमा सक्रिय सुदूरपश्चिमाञ्चल साहित्य समाजको नामकरण नै डा. भट्टले गरेका हुन् ।
कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राममणि रिसाललाई सहमत गराएर उनले यो नाम टुङ्ग्याएका थिए । क्याम्पस पढ्दापढ्दै उनले धनगढीमा साहित्यिक गतिविधिमा संलग्न हुँदा एउटा संस्थागत संरचनाको आवश्यकता महसुस गरे तथा उनकै प्रस्तावमा धनगढीका साहित्यकारको भेलाले सुदूर पश्चिमाञ्चल साहित्य समाज स्थापना गर्ने निर्णय गरेको थियो । जुन समाजको उनी संस्थापक सचिव हुन् ।
धनगढीमा निजी प्रयासमा स्थापना भएका सार्वजनिक संस्थामध्ये अविन्छिन्न रूपमा अगाडि बढेको यो मात्रै एउटा संस्था हुनसक्छ । जसले पछिल्लो पटक रामलाल जोशीको कार्यकालमा आफ्नै तीनतले भवन मात्रै स्थापना गरेन २०७६ साल फागुनमा देश विदेशका साहित्यकार, लेखकलाई निमन्त्रणा गरेर मोफसलमा आजसम्मकै विशाल सप्ताहव्यापी अन्तर्राष्ट्रिय लेखक सम्मेलन आयोजना गरेको थियो । आगामी माघमा पनि यसले विशाल साहित्यिक कार्यक्रम गर्दैछ ।
२०५७ साल माघ २ गते गीता पन्तसँग वैवाहिक बन्धनमा बाँधिएका भट्टको व्यक्तिगत जीवन सामान्य र सरल भए पनि दुर्गमका गाउँ र त्यहाँको जीवनप्रति भने गहिरो आत्मीयता छ । जसको कोही छैन उसका लागि सरकार आफ्नो हुनुपर्छ । सरकारी संयन्त्र उसको सहयोगी बन्न सक्नुपर्छ । भन्ने भावना र चाहना भट्टको बोली, व्यवहार छ ।
“आज पनि लाग्छ जसको बोलिदिने कोही छैन, भनिदिने कोही हुँदैन उनीहरूसम्म बैङ्क पुग्नुपर्छ ।” उनले भने, “त्यो मात्र होइन राज्यका हरेक सुविधा जबसम्म बोलिदिने मान्छे नभएका सर्वसाधारणसम्म पुग्दैन तबसम्म सन्तुलित विकासको परिकल्पना गर्नु नै बेकार हो ।”
आज आएर संस्थागत सुशासन कसरी कायम गर्ने भन्ने चुनौती थपिँदै गएको अनुभव सुनाउँदै उनले भने, “निहित स्वार्थमा संस्था उपयोग हुन थाले भने बैङ्किङ साधन केही सीमित व्यक्तिको हातमा हुने हो कि भन्ने डर छ ।”
युवामञ्च, माघ २०७८