मुरारी अधिकारी
धादिङ, माघ २५ गते । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ र २ का हिमपात प्रभावित २७५ घरधुरीलाई त्रिपाल वितरण गरिएको छ । तीन दिन परेको लगातारको हिमपातका कारण प्रभावित भएका रुविभ्याली गाउँपालिकाका लब्दुङ, पुरु, ठुलोगाउँ, लिङ्जो, कामीगाउँका २७५ घरधुरीमा नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिपाल वितरण गरिएको स्थानीय नरबहादुर तामाङले जानकारी दिनुभयो ।
लगातार हिमपात भएपछि त्रिपाल नहुँदा गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि बिचल्ली भएको अवस्थामा त्रिपाल राहत पाउँदा निकै राहत महसुस भएको तामाङले बताउनुभयो । चिसो अत्यधिक भएकाले न्यानो कपडाको निम्ति स्थानीयहरुले माग गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धादिङ र जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा त्रिपाल वितरण गरिएको हो । अत्यधिक चिसो बढेको हुनाले जेष्ठ नागरिक, बालबालिका, सुत्केरी र सुत्केरी अवस्थामा रहेका महिलाहरूलाई घरबाहिर ननिस्की थप सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।