स्मृति मिश्र
महेन्द्रनगर(धनुषा), चैत ८ गते । शिक्षा र चेतना वृद्धिसँगै तराईमधेसका महिलाको घुम्टो छोट्टिदै गएको छ । तर सामाजिक र सांस्कृतिक परम्पराका नाममा जेठाजुसँग पर्दा गर्नुपर्ने संस्कार अझै कपियत समुदाय र जातजातिमा बाँकी नै छ । धार्मिक र कैयन् पारिवारिक विधिबाट निर्धारित संस्कारबाट निर्देशित चलन भएकाले जेठाजु अगाडि पर्दा गर्नैपर्ने बाध्यता महिलाको छ भने भाइबुहारी अदबका साथ प्रस्तुत हुनुपर्ने मान्यता पुरुषले पनि अँगाल्दै आउनुभएको छ ।
संयुक्त परिवारको विघटन भएसँगै जेठाजुअघि रातदिन पर्दा गर्नैपर्ने सकस कम भए पनि दाजुभाइका घर प्रायः वरपर नै रहने हुँदा जेठाजुलाई मान दिन घुम्टो अाेढ्नुपर्ने, नुसुनिने गरी सानो स्वरमा बोल्नुपर्ने र जेठाजु नातामा पर्नेले प्रयोग गर्ने लत्ताकपडा, ओढ्नेओछ्याउने आदि विभिन्न सामग्री छुन नहुने बन्देज भने छँदैछ ।
‘धनुषाका ग्रामीण क्षेत्रमा रोपाइँ दाइँ गर्ने, अन्नबाली ओसार्ने, गाईवस्तु स्याहार्ने, मेलापात र चुल्होचौका गर्ने महिलाको घुम्टो कार्यथलोमा अलिक छोट्टिएको छ । तर, घरआँगन र टोल छिमेकसम्म भने जेठाजुका नाममा अहिले पनि पर्दा गर्नैपर्ने स्थितिमा फरक आएको छैन,’ संस्कृतिविद् नित्यानन्द मण्डल भन्नुहुन्छ ।
उहाँका अनुसार समयको कुनै खण्डमा नवबुहारीलाई उमेरमा अलिक जेठो तर परिपक्व जेठाजुसँग लाजधाक मान्नुपर्ने र यसले गर्दा पारिवारिक सम्बन्धमा मर्यादा कायम रहने विश्वासका कारण यस्तो परम्परा सुरु भएको हो ।
जेठाजु र बुहारीबीचको सम्बन्ध संवेदनशील भएको ठहरबाट नै कतिपय जातिमा बिहाका बेला नै जेठाजुले बुहारीलाई ’घोघट‘ दिने विधि नै कायम भएको पाइन्छ । बिहाका बेला सिन्दूरदानपछि जेठाजुले भाइबुहारीलाई साडीले सातपटक अनुहार छोपिदिने र फ्याँकिदिने तथा अन्तिमपटक अनुहार नै ढाकिदिने विधिलाई घोघट भनिन्छ । यस चलनमा जेठाजुले जीवनमा कहिल्यै भाइबुहारीको अनुहार नदेख्ने र बुहारीले पनि जेठाजु लगायत बुहार्तन गर्न जाने परिवारका सदस्यका अगाडि मर्यादित रहने प्रण रहेको राजनीतिकर्मी सम्झना बर्मा बताउनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयका प्राज्ञहरूले केही वर्षअघि गरेको एक अध्ययनअनुसार नेपालको मानव विकास सूचकाङ्कमा पहिलो नम्बरमा कायस्थ समुदाय हुने दाबी गरिएको थियो । तर अल्पसङ्ख्यक सूचीका कायस्थ समुदायमा घोघट प्रथा छ । यो प्रथा प्रभावकै कारण कायस्थ जातिका पुरुष भाइबुहारीलाई देख्न र सुन्न चाहँदैनन् भने बुहारीहरू अत्यावश्यक कामका लागि कुरा गर्नुपर्दा घरका बच्चा वा देवर नाता पर्नेहरूको सहारा लिन्छन् ।
बुहारीका रूपमा प्रदेशसभा सदस्य रानीशर्मा तिवारीको अनुभव पनि घतलाग्दो छ । उहाँ भन्नुहुन्छ्, ‘नयाँनयाँ बिहा भएर आउँदा श्रीमानको दाजु नातामा पर्नेको फोन आयो । उहाँले को भनेर सोध्नुभयो अनि मैले आफ्नो परिचय दिनेबित्तिकै उहाँले फोन काट्नुभयो । धेरैपछि थाहा पाएँ कि जेठाजुले बुहारीसँग बोल्न हुँदैेन ।’ तर पछिल्ला वर्षमा भने यस्तो स्थितिमा परिवर्तन आएको उहाँको भनाइ छ । अहिले दाजु पर्ने ती दाइसँगै सजिलै बोलचाल हुनेगरेको उहाँ बताउनुहुन्छ ।
बुहारीसँग व्यवहार गर्न नहुने परम्पराका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का राजु झाको जीवनमा ठूलै समस्या निम्तिएको छ । उहाँका भाइ रोजगारीका लागि विदेशमा हुनुहुन्छ । उहाँ भने गाउँठाउँमै काम गर्नुहुन्छ । बालबच्चा पढाउन उहाँकी श्रीमती काठमाडौंमा हुनुहुन्छ । घरमा वृद्ध बाआमाका अतिरिक्त बुहारी र भाइका छोराछोरी छन् । बुहारीसँग बोल्न नहुने कारणले सरसामान बन्दोबस्त गर्न र खानपानमा सधैँ समस्या हुने गरेको उहाँले बताउनुभयो । ‘घर सानो छ । केही कोठा छन् । भित्र पस्नुअघि सधैँ बुहारीले थाहा पाउनेगरी खोक्नुपर्छ । अबेर राति घरजाँदा त बिजोक नै हुन्छ । बच्चा सुतिसकेका हुन्छन् । बिरामी बाआमा गेटसम्म आउन सक्दैनन् । अनि भाइबुहारीले बच्चालाई उठाइवरि गेट खोल्न लगाउँछिन्,’ उहाँ भन्नुहुन्छ ।
खाना खाने बेलामा जेठाजुका नजिकबाट बुहारी जान नपर्ने, जेठाजुका सुकाउन राखिएका लुगाफाटाको छायामा बुहारी पर्न नहुने र यस्तो हुँदा बुहारीले जिउमा गङ्गाजल छर्केर पापनिदान गर्नुपर्ने स्थितिसमेत कतैकतै रहेको शहीदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया बताउनुहुन्छ । तर लैंगिक हिँसा, लैङ्गिक संवेदनशीलता र लैङ्गिक अधिकारबारे सामुदायिक चेतनामा जोड दिएर नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न थालेपछि एउटै थलोमा जेठाजु र बुहारी चर्का स्वरमा आफ्ना माग प्रस्तुत गर्न थालेको उहाँको अनुभव छ ।
उत्पादन प्रणालीसँग महिलाको सम्बन्ध परम्परागत नै रहेको र समयक्रममा केही सामाजिक कारणले गर्दा यस्ता प्रथाले प्रश्रय लिए पनि शिक्षा र चेतना प्रसारका कारण सम्बन्धमा आदरभाव व्यक्त गर्ने अनुपयुक्त शैली परिवर्तित हुँदै गएको मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘मर्यादा मनमा हुनुपर्छ, शैलीमा होइन ।’