काठमाडौं, कात्तिक १३ गते । इन्डियन प्रिमियर लिगको लिग चरण समाप्त हुन अब केही खेल मात्रै बाँकी छ । मुम्बई इन्डियन्स १२ मध्ये आठ खेलमा जित हात पारेर उत्कृष्ट नेट रन रेटसँगै दुई म्याच खेल्न बाँकी छँदै सुरक्षित स्थितिमा पुगेको छ ।
इन्डियन प्रिमियर लिगको १३ औं संस्करणमा बाँकी रहेको प्ले अफको तीन स्थानका लागि छ वटा टोलीले स्पर्धा गरिरहेको छ । चेन्नई सुपर किंग्स भने बाहिरिसकेको छ । उसले १२ खेलमध्ये मात्र चारमा जित हात पारेर आठ अङ्क मात्रै बटुल्न सकेको छ ।
कलकत्ता नाइट राइडर्स
कलकत्ता नाइट राइडर्सले अब दुई म्याच खेल्न बाँकी छ । पहिलो खेलमा उसले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । दोस्रोमा राजस्थान रोयलको सामना गर्नेछ । दुबै खेलमा उसले जित हात पारे १६ अङ्क बटुल्नेछ तर उसको समस्या नेट रन रेट हो । उसले १२ खेलमध्ये छ मा जित हात पारेर १२ अङ्क आर्जन गरेको छ । जुन स्पर्धामा रहेका पाँचवटै टोलिभन्दा कमजोर छ ।
यद्दपी पछिल्लो दुई खेलमा देल्ही क्यापिटलले बेहोरेको हारले कलकत्ताको नेट रन रेटको दूरी बिगत्को अपेक्षा सुधारोन्मुख छ । अङ्कतालिकामा कलकत्ताभन्दा माथि रहेको चार टोलिको नेट रन रेट राम्रो छ । किंग्स एलेभन पञ्जाबसँग ऊ नजिक छ । तर किंग्स एलेभन पञ्जाबले बाँकी रहेको दुबै खेलमा जित हात पारे ऊ १६ अङ्क पुर्याउनुका साथै नेट रन रेटमा समेत अगाडि बढ्नेछ ।
यस्तो अवस्थामा कलकत्ताले एउटै प्रार्थना गरेको हुनुपर्छ – आफू दुबै खेल ठूलो अन्तरले जितौं र बाँकी रहेको चार टोलीमध्ये कुनै एकको १६ अङ्क नपुगोस् । तर कलकत्ताले आज हुन लागेको चेन्नई विरुद्धको खेलमा हार बेहोरे र राजस्थानसँग जित हात पारेको अवस्थामा १४ अङ्क मात्रै बटुलेर ऊ प्ले अफका लागि योग्य हुनसक्छ । त्यत्तिबेला नेट रन रेटको औचित्य रहने छैन । तर उसले परिणामका लागि अन्य टोलीको प्रदर्शनमा निर्भर रहनुपर्नेछ ।
रोयल च्यालेन्जर्स बैंग्लौर
बैंग्लौरले १२ खेलमध्ये सातमा जित हात पारेर १४ अङ्क बटुलेको छ । गए राति मुम्बईसँग हार बेहोरे पनि ऊ अन्तिम चारसम्म पुग्न पर्याप्त सम्भावना छ । बाँकीको दुई खेलमा उसले हार बेहोरेपनि अन्तिम चारमा पुग्ने सम्भावना रहन्छ तर त्यसका लागि उसले अन्य टोलीको परिणाममा निर्भर हुनुपर्छ ।
देल्ही क्यापिटल्स
देल्ही क्यापिटल्सले १२ खेलमध्यधे सातमा जित हात पारेको छ । उसको १४ अङ्क छ । सनराइजर्स हैदराबादविरुद्ध ठूलो अन्तरको हारले उसको सहजै प्ले अफ पुग्ने सम्भावनामा धक्का लागेको छ । बाँकीको दुईमध्ये एकमा जित हात पारेको अवस्थामा उसको प्ले अफ पुग्ने सम्भावना अत्याधिक हुन जान्छ ।
क्रिकइन्फोका अनुसार देल्हीले दुईमध्ये एक खेल पाँच रनले जित्ने र अर्कोमा ६० रनले हार बेहोरे तथा कलकत्ताले बाँकीको दुबै खेल ७० रनको अन्तरले जित हात पारे देल्हीलाई पछार्दै कलकत्ता प्ले अफमा पुग्नेछ ।
किंग्स एलेभन पञ्जाब
पञ्जाबको १२ अङ्क छ । पञ्जाबले पछिल्लो पाँच खेल लगातार जित्ने श्रृखंलामा उभिएको छ । जसलाई उसले सातसम्म पुर्याउन प्रयास गर्नेछ । र त्यसो गर्न सके उसले सहज रुपमा प्लेअफका लागि स्थान पक्का गर्न पाउँछ । कलकत्ताभन्दा नेट रन रेट स्तरीय रहेकोले पनि उसलाई उछिन्न सहज हुनेछ ।
पञ्जाबले एक रनको अन्तरले मात्रै आफ्नो दुबै खेल जित्ने र कलकत्ताले बाँकीको दुबै खेल १०५ रनको अन्तरले जितेको अवस्थामा पनि पञ्जाबलाई नेट रन रेटमा उसले उछिन्नेछ । तर पञ्जाबले दुईमध्ये एकमा मात्रै जित हात पारेर १४ अङ्क ल्याएको अवस्थामा पनि प्ले अफ पुग्न सक्नेछ । तर त्यसको लागि उसले पनि अन्य टोलिको जित हारमा निर्भर हुनुपर्नेछ ।
सनराइजर्स हैदराबाद
सनराइजर्स हैदराबादले १२ खेलमध्ये पाँचमा जितेर दश अङ्क प्राप्त गरेको छ । उसको नेट रन रेट पञ्जाब, कलकत्ता र बैंग्लौरको भन्दा उत्कृष्ट छ । तर हैदराबादको लागि समीकरण प्रष्ट छ । बाँकी रहेको दुबै खेल जित्ने र स्पर्धामा रहेको चार टोलीमध्ये कुनै दुई टोलीले १६ अङ्कसम्म पुग्न नसकोस् ।
राजस्थान रोयल
राजस्थान रोयलले १२ खेलबाट हैदराबादसँग सामान दश अङ्क प्राप्त गरेको छ । तर उसको नेट रन रेट दयनीय छ । उसलाई प्ले अफ पुग्न थुप्रै तत्व उसको अनुकूल हुनुपर्छ । पञ्जाबले दुबै खेल हार्नुपर्नेछ, हैदराबादले एक खेल मात्रै जित्नुपर्छ र चेन्नई सुपर किंग्सले नाइट राइडर्सलाई हराउनुपर्छ । यति भएपछि राजस्थानले बाँकी रहेको दुबै खेल जितेको अवस्थामा ऊ अन्तिम चारका लागि योग्य हुनेछ ।