गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को १९औँ साधारण सभाले मङ्गलबार २०७७–७८ का लागि ८५ करोड ६६ लाख ४२ हजार २४० रुपियाँ अनुमोदन गरेको छ ।
एन्फाको बन्द सत्रपछि गरिएको पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता किरण राईले गत वर्षको आम्दानी खर्चको हिसाबकिताब पनि सार्वजनिक गर्नुभयो । जसअनुसार गत वर्ष एन्फाले ४० करोड २६ लाख ४९ हजार ६९९ रुपियाँ आम्दानी गरेको थियो भने ४१ करोड २६ लाख ९५ हजार १५६ रुपियाँ खर्च भएको छ । प्रवक्ता राईले एन्फाको एक दिनअघि बसेको कार्यसमतिले प्रस्ताव गरेका सबै निर्णय साधारण सभाले पास गरेको जानकारी पनि दिनुभयो । यसअघि विराटनगरको काँग्रेसले गरेको निर्णय पनि अनुमोदन गरेको छ । साधारण सभाले खोटाङ, मनाङ र नवलपरासीलाई पूर्ण सदस्यका रूपमा स्वीकार गरेको छ ।
वार्षिक क्यालेन्डर
यसैगरी एन्फाको साधारण सभाले आगामी वर्षको वार्षिक खेल क्यालेन्डर पनि पारित गरेको छ । आगामी वर्षको कार्यक्रमअनुसार कोभिडका कारण बाँकी रहेको शहीद स्मारक ‘बी’ र ‘सी’ डिभिजन लिग पनि छन् । यसैगरी एन्फाको क्यालेन्डरअनुसार प्रदेश लिगहरू, एन्फा प्रेसिडेन्ट कप, राष्ट्रिय महिला लिग, राष्ट्रिय लिग, नगर लिग, जिल्ला लिग, प्रदेश लिग, अन्तर्राष्ट्रिय फुटबल पुरुष प्रतियोगिता, विश्वकप २०२२ को छनोट तथा सबै प्रदेशमा विभिन्न वर्कसपका कार्यक्रम निर्धारण गरिएको छ । यसैगरी फुटसलको ‘ए’ डिभिजन लिग २०७८ सालको वैशाखमा गर्ने बताइएको छ । वैशाखमै अन्तर नगरपालिका फुटबल प्रतियोगिता पनि हुनेछ । यसबाहेक क्विक्स कप यु–१४, अन्तर्राष्ट्रिय महिला कोर्डिनेसन कप, ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता, उपमेयर कप राष्ट्रिय महिला लिग, एन्फा कप नकआउट फुटबल, साफ यु–१६, यु–१९ फुटबल, एएफसी एसियन महिला कप छनोट, साफ च्याम्पियन २०२१, साफ यु–१८ च्याम्पियनसिप, स्कुल लिग यु–१६ फुटबल प्रतियोगिता पनि हुनेछन् ।
मनोनयन खारेज
एन्फाको साधारण सभाले फिफासँगको छलफलपछि कार्यसमितिमा पदाधिकारी मनोनयन गर्ने प्रावधान हटाएको छ । आगामी काँग्रेसको निर्वाचनमा २१ कार्यसमितिमा सबै पदका लागि चुनाव हुनेछ । अध्यक्ष, वरीष्ठ उपाध्यक्ष र चार उपाध्यक्षको छुट्टै चुनाव हुने । यसअघि चार उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्ष चयन हुने प्रावधान थियो । आगामी चुनावबाट सबै खाले मनोनयनमा बन्देज लागेको छ । आगामी कार्यसमिति दुई महिना अनिवार्य गरिएको छ । प्रवक्ता राईले बन्द सत्रमा विशेष रूपमा विधान संशोधनबारे छलफल भएको पनि जनाउनुभयो । उहाँले भन्नुभयो, एन्फाको विधानमा केही गल्ती छन् । फिफा र एएफसीको मार्गनिर्देशन तथा नयाँ खेलकुद ऐनले निर्देशित गरेको विषयअनुसार विधान संशोधन गर्ने प्रस्ट भएको छ । जुन अब कार्यान्वयनमा जान्छ ।
उहाँले साधारण सभाले आगामी वर्षको फुटबलको अवधारणा निर्माण गरेको र गत वर्षको गतिविधिको विषयमा गम्भीर समीक्षा भएको भन्नुहुँदै विगतमा भएका कमी कमजोरी ग्रहण गर्ने र त्यसलाई सच्चाएर सुधार गर्दै लाने कुरामा सबै सहमत भएको छ, भन्नुभयो ।
फुटबलले नयाँ मोड लिने अपेक्षा
यसअघि उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री दावा तामाङ लामाले गौरवपूर्ण इतिहास बोकेको एन्फाको यस साधारण सभाले नयाँ मोड लिन सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले फुटबलको विकासमा मन्त्रालयले आफूले खेल्नुपर्ने भूमिकामा निर्वाह गर्न सदा तयार रहनेछ पनि भन्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले राखेपले फुटबललाई उच्च महत्व दिएको भन्दै महिला फुटबलको विकासमा अझ लागि पर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबल विकासका लागि सदस्यसचिव सिलवालसमक्ष ज्ञापनपत्र पनि बुझाउनुभयो । जसमा फुटबलको बजेटमा सरकारले चार वर्षका लागि बर्सेनि आठ करोड रुपियाँ छुट्याउन अनुरोध गरिएको छ ।
एन्फाका अध्यक्ष शेर्पाले आफ्नो टिम निर्वाचित भएपछि पाँच आधारस्तम्भलाई सूत्र बनाएर अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक पारदर्शिता, सुशासन, पूर्वाधार, प्रशिक्षण, क्षमतावृद्धि र प्रतियोगितालाई एन्फाले आफ्नो प्राथमिकतामा राखेको छ । उद्घाटन सत्रमा पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेल, खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले पनि आआफ्नो धारणा राख्नुभएको थियो । कोभिड–१९ का कारण एन्फाको साधारण सभा पाँच महिना ढिलो आयोजना भएको हो ।