logo
२०८१ बैशाख २९ शनिवार



शरद् भन्छन्– आत्मविश्वास उच्च छ, ‘नर्मल’ खेलेर जित्न सकिने मञ्जितको दाबी

खेलकुद |


शरद् भन्छन्– आत्मविश्वास उच्च छ, ‘नर्मल’ खेलेर जित्न सकिने मञ्जितको दाबी
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । मेयर्स कप क्रिकेटको उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल(एपीएफ) र नेपाल पुलिस क्लबबीच स्पर्धा हुँदैछ । उपाधिको होडको पूर्बसन्ध्यामा नेपाल क्रिकेट संघले आयोजना गरेको पत्रकार सम्मेलनमा दुबै टोलिका कप्तानले आ आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ ।
एपीएफले पछिल्लो एक महिनामा दोस्रो पटक महत्वपूर्ण उपाधिको लागि स्पर्धा गर्दैछ । प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मीबाट एपीएफले हार बेहोर्दै उपाधि उचाल्नबाट चुक्न पुग्यो । एपीएफका कप्तान शरद भेषावकार भन्नुहुन्छ, “उक्त गलती दोहोरयाउने पक्षमा छैनौं, गतिलो प्रदर्शनलाई निरन्तरता दिएर यहाँसम्म आइपुगेका छौं ।” लिग चरणमै नेपाल पुलिसलाई हराएकोले आत्मविश्वास उच्च रहेको भेषावकारले बताउनुभयो ।
प्रधानमन्त्री कप क्रिकेटको लिग चरणको सबै खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको एपीएफले यसपटक भने लिग चरणमा बागमतीबाट २७ रनको हार बेहोरेको थियो । लिगको दोस्रो खेलमा नेपाल पुलिसको २५९ रनको लक्ष्य नौ विकेट गुमाएर जसोतसो पुरा गरेको एपीएफलाई बागमतीले प्रस्तुत गरेको २३४ रनको लक्ष्य भेटाउन समेत मुश्किल भयो ।
प्रतियोगितामा एपीएफले सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानबाट राम्रो साथ पाएको छ । तर पूछारका ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन् । ओपनर सुवास खकुरेल र आसिफ शेषले औसत सुरुवात दिलाएका छन् । मध्यक्रममा सन्दीप जोरा उत्कृष्ट लयमा देखिनुभएको छ । कप्तान शरद स्वयं पनि संयमित ब्याटिङका लागि चिनिनुहुन्छ ।
पुलिसका कप्तान मञ्जित श्रेष्ठले आफूहरु विशिष्ट योजना लिएर नखेल्ने बरु बिगत्को खेललाई निरन्तरता दिने पक्षमा रहेको बताउनुहुन्छ । पहिलो खेलमा बागमती समक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरी रक्षा गर्न सफल भएको पुलिसले दोस्रो खेलमा उत्कृष्ट ब्याटिंग गर्दागर्दै एपीएफबाट पराजित हुन पुग्यो । त्रिभुवन आर्मी विरुद्धको खेलमा ८८ रनको लक्ष्य पछ्याउने क्रममा उसले सात विकेट गुमाउन पुग्यो । यद्दपी आफ्नो पछिल्लो खेलमा १९७ रन बनाएर काठमाडौं मेयर्स ११ लाई ९४ रनमै समेट्दा उसले बलिङ गहिराइलाई प्रष्ट्याएको थियो ।
नेपाल पुलिसको ब्याटिङमा समेत गहिराइ छ । पुलिसका लागि प्रतियोगितामा दिपेन्द्रसिंह ऐरीले एपीएफ विरुद्ध नै १४० रनको शतकीय पारी खेल्नुभएको थियो । आठौं नम्बरका ब्याट्सम्यानले समेत खेल जिताउन सक्ने क्षमता राखेका छन् । ओपनर कुशल भुर्तेल र सुनिल धमलाले औसत सुरुवात दिलाएको अवस्थामा मध्यक्रमको जिम्मेवारी लिन दिपेन्द्रसिंह ऐरीको अनुभवले उसलाई साथ दिनेछ । मध्यक्रम र पूछारमै पवन सर्राफ, अनिल साह र दिलीप नाथको काँधमा टोलिको योगफल जित उन्मुख बनाउन केन्द्रित रहनेछ ।
दुबै टोलिका कप्तानले २४० देखि २६० सम्मको लक्ष्य प्रस्तुत गरे रक्षा गर्न सक्ने बताउनुभएको छ । यद्दपी त्रिवि क्रिकेट ग्राउन्ड ब्याटिङ पिच रहेकोले कुनै चमात्कार नहुने अवस्थामा पहिलो ब्याटिंग गर्ने टोलिले २५० भन्दा माथि नै रन जोड्न प्रयत्नशील रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?