logo
२०८१ बैशाख २६ बुधवार



तयार हुँदै सिन्धुलीको पहिलो होमस्टे

पर्यटन |


तयार हुँदै सिन्धुलीको पहिलो होमस्टे



बाबुराम देवकोटा

ढुङ्ग्रे भन्ज्याङ (सिन्धुली), भदौ १९ गते । सिन्धुली जिल्लामै पहिलोपटक कमलामाई नगरपालिका २ ढुङ्ग्रे भन्ज्याङमा पर्यटन प्रवद्र्धन र रैथाने बालीको संरक्षण गर्न होमस्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही भदौको अन्तिमबाट होमस्टे सञ्चालनमा ल्याउने गरी सबै तयारी अन्तिम चरणमा पुगेको होमस्टे निर्माणमा साझेदारीको काम गर्दै आएको संस्था श्री सिन्धुलीले जनाएको छ । उक्त संस्थाका कार्यक्रम संयोजक बेदराज दाहालका अनुसार अहिले अरू सबै काम सकेर शौचालय र स्नान घर निर्माणको काम भइरहेको छ ।
बीपी राजमार्गले छोएको ढुङ्ग्रे भन्ज्याङमा यही भदौ महिनाको अन्तिमदेखि होमस्टे सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो । उक्त ठाउँमा होमस्टे सञ्चालनमा ल्याउन कृषि ज्ञान केन्द्र, कमलामाई नगरपालिका र उद्योग वाणिज्य सङ्घले पनि सघाएको छ । होमस्टे सञ्चालनमा ल्याउन स्थानीयलाई तालिम, पूर्वाधार निर्माण, कला संस्कृतिको तयारी, सरसफाइ तथा अन्य काम सम्पन्न भएको छ ।
कोदो, फापर, चिनो, कागुनो, जौ, उवा र लट्टेजस्ता रैथाने बाली लोप हुँदै गएकाले ती बालीको संरक्षण र प्रवद्र्धन गर्न ग्रामीण पर्यटनसँग जोडिएको होमस्टे निर्माणको अवधारणा अघि सारिएको कार्यक्रम संयोजक दाहालले बताउनुभयो । उहाँका अनुसार ढुङ्ग्रे भन्ज्याङमा स्थानीय मगर समुदायको १७ घरमा होमस्टे सञ्चालन गर्न चार लाख ८० हजार रुपियाँ खर्च हुनेछ ।
कला घर सिन्धुलीले स्थानीय युवालाई नै लिएर सांस्कृतिक समूह तयार पारेको छ । मगर बस्ती बाक्लो रहेको उक्त स्थानमा उनीहरूका कला संस्कृतिसमेत पाहुनाले हेर्न पाउने छन् । ‘पञ्चेबाजाका अलावा लोपोन्मुख संस्कृतिको संरक्षणका सबै काम गरेका छौँ,’ कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले भन्नुभयो, ‘एकपटक आएका पाहुनालाई फेरि आउँआउँ लाग्ने गरी काम गरेका छौँ । ’
भद्रकाली सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष चेतबहादुर थापामगर सुरुमा १७ घरबाट होमस्टे सुरु गरिने र पछि थप्दै जाने योजना रहेको बताउनुहुन्छ । ढुङ्ग्रे भञ्ज्याङमा २२ घर रहेका छन् । ‘होमस्टे सञ्चालनको प्रक्रिया गत चैतदेखि सुरु भएको हो,’ उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालन गर्न अहिलेसम्म स्थानीय समुदायको आर्थिक लगानी परेको छैन, उपयुक्त हुने दुईवटाका दरले कोठा उपलब्ध गराउने भनेका छौँ । ’ कृषि ज्ञान केन्द्रले होमस्टे सञ्चालनको तयारी स्वरुप १० घरलाई गोठ सुधारका लागि १० हजार रुपियाँका दरले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । होमस्टे सञ्चालकलाई श्री सिन्धुलीले तरकारी खेती, कुखुरापालन तालिम र उद्यमशीलता तालिम उपलब्ध गराएको छ ।
होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने स्थानीय उत्पादनमा कमी ल्याउन नदिन सञ्चालक आफैँले जिम्मा लिएका छन् । समितिकै सचिव शङ्कर जर्घामगर भन्नुहुन्छ, ‘‘मैले अर्गानिक तरकारी खेती (टमाटर)को जिम्मा लिएको छु, कुनै घरले खसीबोका, कुनै घरले कुखुराको कमी हुन नदिने जिम्मा लिएका छौँ । ’’ प्राङ्गारिक खानेकुरा सिस्नो, फापर, कोदो, गिठा, भ्याकुर, मकैका परिकार बनाएर पाहुनालाई खुवाउने योजना होमस्टे सञ्चालकले बनाएका छन् ।
अहिले नजिकका (स्वदेशी) पाहुना राख्ने र पछि विदेसी पाहुनालाई राखेर स्वागत गर्ने लक्ष्य रहेको होमस्टे सञ्चालकसमेत रहनुभएका समितिका सचिव जर्घामगरको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?