logo
२०८१ बैशाख २७ बिहीवार



अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

पर्यटन |


अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


तारा चापागाई दुवे

कास्की, भदौ १९ गते । विश्वकै उत्कृष्ट १० पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७४/७५ को भन्दा आठ हजार ९०२ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/७६ मा १७० देशका एक लाख ८१ हजार ७६३ जना पर्यटकले पदमार्गको यात्रा गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा यो सङ्ख्या एक लाख ७२ हजार ८६१ जना रहेको बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पदमार्गको भ्रमण गर्नेमा सार्क राष्ट्रका पर्यटकमध्ये भारतका सबैभन्दा बढी छन् । सार्कबाहेक अन्य देशमा चीन, फ्रान्स, जर्मनी, बेलायत, कोरिया, अस्टे«लिया, मलेसिया, अमेरिका, क्यानडालगायतका देशका पर्यटक बढी छन् । विशेष गरी पदमार्गमा भदौको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म पर्यटकको चाप बढी हुने गर्दछ ।
पदमार्गको मुख्य केन्द्रबिन्दु मानिएको अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा रहेको छ । पदमार्गमा जाने एक तिहाईभन्दा बढी आधार शिविरसम्म पुग्ने गर्दछन् । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये करिब ५० हजारको हाराहारीमा आधार शिविर पुग्ने गरेका छन् । गाउँपालिकाले पदमार्गको सुधार गर्दै आएको छ । त्यसका लागि पूर्वाधार निर्माणमा गाउँपालिका लागेको र हाल विभिन्न काम सुरु गरेको कुँवरले जानकारी दिनुभयो । पदमार्गलाई वर्षभर नै सञ्चालनसँगै एक पटक आएका पर्यटकलाई पटक पटक आउने वातारण बनाउनसमेत आफूहरू लागेको उहाँको भनाइ छ ।
स्थानीय व्यवसायीसमेत रहेका अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङले केन्द्र र प्रदेश सरकारले पदमार्गको विकास र विस्तारमा जुनरूपले काम गर्नुपर्ने हो नगरेको भन्दै गुनासो गर्नुभयो । पदमार्गलाई वर्षभरि सञ्चालन गर्ने, आवश्यक स्थानमा पुल बनाउने, बाटो मर्मत, हिउँ पहिरो नियन्त्रणका लागि काम गर्नुपर्ने र यसका लागि केन्द्र र प्रदेश सरकारले आवश्यक सहयोग नगरेको उहाँको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?