काठमाडौँ, भदौ २७ गते ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ । राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा)ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो ।
कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने बताउनुभयो । “नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । आफ्नो संस्था पर्यटन मन्त्रालयसँग दाहिने हात बनेर सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । उहाँले निर्वाचनमा राखेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमिति दृढ भएर अगाडि बढ्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाटमुक्त बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । “ यो संस्थालाई राजनीति गर्ने थलोभन्दा पनि व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गरौँ”, उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताउनुभयो । टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताउनुभयो । राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गानाले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित कार्यसमितिसँग आग्रह गर्नुभयो ।