logo
२०८१ बैशाख २७ बिहीवार



निग्लिहवामा भाद्र पूर्णिमा उत्सव   

पर्यटन |


निग्लिहवामा भाद्र पूर्णिमा उत्सव   


बुटवल, भदौ २९ गते ।  

लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ ।     
    
बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ ।    
     
लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो ।    
    
लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग सम्बन्धित स्थानमा आयोजना गरिने पाँचौँ पूर्णिमा उत्सव निग्लिहवामा आयोजना गरिएको हो । बुद्धको जीवनीमा पूर्णिमाले निकै महत्व राख्ने भएकाले हरेक महीनाको पूर्णिमालाई उत्सवको रूपमा मनाउने कार्यक्रम लुम्बिनी भ्रमण वर्ष २०७६ मा पनि समावेश गरिएको छ ।    
    
निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थानको रूपमा इशा पूर्व २४९ मा सम्राट अशोकले आफँै आएर खडा गरेको शिलास्तम्भमा कुँदिएको छ । हाल उक्त स्तम्भ भाँचिएर दुई टुक्रामा रहेको र लुम्बिनी विकास कोषले संरक्षण गरिराखेको छ ।    
    
आशोक स्तम्भमा स्तुपलाई दोस्रोपटक ठूलो बनाउन लगाइएको अभिलेख रहेको प्रसिद्ध चिनियाँ यात्रीहरु फासियन र हयुएन शाङले समेत आफ्ना यात्रा वर्णनमा कनकमुनि बुद्धको स्तुपमा भ्रमण गरेको उल्लेख गरेको पाइन्छ । पुरातत्वविद डा फुररले आफ्नो दुईपटकको अनुसन्धान प्रतिवेदनमा निग्लिहवामा कनकमुनि बुद्धका ठूलो स्तुपा रहेको र उक्त स्तुप पूर्वी भागमा पोखरी निर्माणका क्रममा क्षति भएको हुनसक्ने अनुमान गरेका छन् ।    
    
सङ्घीय सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रूपमा अगाडि सारेको अवस्थामा प्रदेश नं ५ सरकारले भ्रमण वर्षलाई साकार पार्न लुम्बिनी भ्रमण वर्ष–२०७६ को आयोजना गरेको हो । भाद्र पूर्णिमा उत्सवको शनिबार प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गर्नुभयो ।    
    
कार्यक्रममा मन्त्री गिरीले बुद्धसँग सम्बन्धित यस क्षेत्रका अपार सम्पदाको उत्खनन, संरक्षण र प्रचारप्रसार गर्ने कार्यमा प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । मन्त्री गिरीले पर्यटकीय क्षेत्रहरुको समृद्धि र विकास गर्दा स्थानीय जनताको भावनाविपरीत हुननसक्ने बताउँदै स्थानीयको सम्पत्तिको क्षतिसँगै ती स्थानहरुमा बन्ने संरचनामा स्थानीयवासीलाई हरेक हिसाबले प्राथमिकता दिने नीति बन्ने स्पष्ट पार्नुभयो ।    
    
उहाँले बुद्धका शृङ्खला, भौतिकरूपमा रहेका भग्नावशेष, सम्पदाको यथार्थ अनुसन्धान गरेर विश्वसामु प्रचारप्रसारका माध्यमबाट जानकारी गराउने र विश्वभरिका पर्यटक आउने वातावरण निर्माण गर्नु प्रमुख कर्तव्य ठानेर सरकारले काम गरेको बताउनुभयो ।    
    
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विकास कोषले कपिलवस्तुका महत्वपूर्ण सम्पदाको विकास र संरक्षणमा चासो दिएर काम अघि बढाएको बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य दीर्घनारायण पाण्डेले प्रदेश सरकार लुम्बिनीसँगै कपिलवस्तुका बुद्ध क्षेत्रहरुको विकासमा अग्रसर रहेको बताउनुभयो ।    
    
उक्त अवसरमा प्रदेशसभाका सदस्य अर्जुन केसी, धरमबहादुर लाल श्रीवास्तव, सहश्रराम यादव, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सरकारले कपिलवस्तुमा रहेका महत्वपूर्ण सम्पदाको विकासमा चासो दिन आग्रह गर्नुभयो । सो अवसरमा निग्लिहवामा निर्माण गरिएको अशोक स्तम्भ संरक्षित क्षेत्रमा दीप प्रज्वलन र स्थानीय आमा समूहले बुद्धको जीवनीसँग जोडेर भजनसमेत प्रस्तुत गरेका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?