logo
२०८१ बैशाख २७ बिहीवार



भेलागढी वन प्रमुख पर्यटकीयस्थलमा परिणत हुँदै

पर्यटन |


भेलागढी वन प्रमुख पर्यटकीयस्थलमा परिणत हुँदै
पार्कमा रहेको आकर्षक काठको पुलमा आन्तरिक पर्यटकहरु


विष्णुप्रसाद पोखरेल
हल्दीबारी, भदौ ३१ गते । झापा हल्दीबारी वडा नं. २ को भेलागढी वनको हाताभित्र रहेको पोखरी अहिले यस गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलको रुपमा परिणत भएको छ ।

यहाँ करिब तीन बिगाहमा फैलिएको सिमसारभित्र ८० हजार माछाका भुरा छाडिएको छ । काठबाट बनाईएको पुल आकर्षणको केन्द्र बनेको छ ।एकवर्ष अघिसम्म यो क्षेत्र सामान्य सिमसारको रुपमा रहेको थियो ।

९१ दशमलव ५६ हेक्टरमा फैलिएका सामुदायिक वनमा १९ दशमलव ७ हेक्टरमा सिमसारसहितको पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना छ ।

भ्यू टावर, आधुनिक तालिम हल, टायलसहितको रिङरोड, पानीका फोहोरा (वाटर डान्सिङ फाउन्टेन), हनुमानको शालिक, काठे पुल, बालबालिका पार्क, खेलमैदान, पिकनिक स्थललगायतका संरचनाहरु बनाउने काम भइरहेको छ ।

लोकतान्त्रिक आन्दोलनको क्रममा यस क्षेत्रका सहिद तथा बेपत्ताहरुको स्मरणमा लोकतान्त्रिक सहिद स्मृति पार्क निर्माण भइरहेको छ । त्यसको लागि करिब दुई करोड रुपियाँ लगानी भइसकेको छ ।

झापाको प्रमुख पर्यटकीय स्थल निर्माण गर्न विस्तृत परियोजना विवरण (डिपीआर) बनाएर केन्द्र तथा प्रदेश सरकारसँग बजेट माग गरिएको छ । गत वर्ष प्रदेश सरकारले एककरोड ३० लाख रुपियाँ उपलब्ध गराइसकेको छ ।

विस्तृत परियोजना विवरण अनुसार ४ करोड ८९ लाख ४३ हजार २ सय ६२ रुपियाँ लाग्ने अनुमान छ । वि.सं. २०७६ साल फागुनमा भएको गाउँसभाले आठ करोड लागत अनुमान स्वीकृत गर्दै बहुवर्षीय आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्षमा लागत सहभागिताका लागि एक करोड रुपियाँ विनियोजन गरेको समेत उहाँले जानकारी दिनुभयो ।

यसैबीच, गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार पर्यटन वर्ष २०२० लाई लक्षित गरेर यसलाई उत्कृष्ट गन्तब्यको रुपमा प्रचारप्रसारका लागि पहिलो बृहत हल्दीबारी महोत्सव आयोजना हुँदैछ ।

महोत्सवमा कम्तिमा आन्तरिक तथा बाह्य गरेर एकलाख पर्यटक भित्र्याउने लक्ष्यका साथ तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?