logo
२०८१ बैशाख २७ बिहीवार



मनास्लु पदयात्रा, भिरको बाटो पहिरोको त्रास

पर्यटन |


मनास्लु पदयात्रा, भिरको बाटो पहिरोको त्रास
लाप्राक सिङ्ला हुँदै खोर्लाबेसी जाने बाटोमा गएको पहिरो



नरेन्द्र ढकाल
गोरखा, असोज ६ गते । अक्टोबर सिजन सुरुसँगै उत्तरी गोरखाका पर्यटकको चहलपहल सुरु भएको छ । मनास्लु क्षेत्र पुग्ने दुई वटा विकल्प छन्, हेलिप्टर चढ्ने कि, भिरैभिरको बाटो हिड्ने ?
अहिलेसम्म मोटरबाटो पुग्न नसकेको त्यहाँ पदयात्राको आनन्द लिन विश्वभरका पर्यटकहरु आइपुग्ने गर्छन् । त्यसका लागि एक सातासम्म हिड्नुपर्ने हुन्छ । तर नेपालकै लोकप्रिय मनास्लु पदमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा त्यहाँ पुग्ने पर्यटकहरुले वर्सेनि दुखः पाउने गरेका छन् । यसवर्ष पनि विभिन्न ठाउँमा पहिरो गएको छ ।

‘तीन ग्रुप त लामो बाटो घुमेर गयो’ धार्चे ५ सिङ्लाका भक्तराज गुरुङले भन्नुभयो ‘हामी रित्तै त हिड्न सक्ने अबस्था छैन्, पर्यटक र भरियाको जान सक्ने कुरै भएन ।’ मनास्लु पदमार्ग जाने विभिन्न रुट मध्ये लाप्राक, सिङ्ला हुँदै खोर्लाबेसीसम्मको बाटोमा विभिन्न ठाउँमा पहिरो गएको स्थानीयले बताएका छन् । धार्चे गाउँपालिका–५ गुम्दा र ३ उहियाको बीचमा धेरै ठाउँमा पहिरो गएको छ ।

‘लाकेदा, पलुङखोला हुँदै चुवार खोलासम्मको ठाउँमा पहिरो गएको छ’ उहाँले भन्नुभयो ‘वडा, गाउँपालिका र टानमा समेत पहिरो हटाइदिन अनुरोध ग¥यौं तर काम भएको छैन् ।’ धार्चे– ५ गुम्दाका अध्यक्ष तुलबहादुर गुरुङले पनि पहिरोले समस्या भएको बताउनुभएको छ ।

देर्बुखोलादेखि तिम्बा खोला, सोतीदेखि लापुबेसी हुँदै माछीखोलासम्म, गुम्दा हुँदै लाप्राक लापु, लाप्राक, गुम्दा हुँदै माछीखोला, गुम्दाबाट लापु जाने बाटोमा समेत विभिन्न ठाउँमा पहिरो गएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘पहिरो हटाउन प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले इन्जिनियर पठाएको छ, रिर्पोट पेस भएपछि हटाउने काम सुरु हुन्छ ।’

मनास्लु पदमार्ग जाने मुख्य पदमार्ग आरुघाट–माछाखोला–सिद्र्धिबास(फिलिम)मा भने यस वर्ष ठूलो पहिरो गएको छैन । तर नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्जाङ सडकको ट्रयाक खन्ने क्रममा पुरानो पैदल मार्ग पुरिदाँ यात्रुहरु मर्कामा परेका छन् । ‘पहिले जस्तो बाटै भत्कियो भन्ने खबर त आएको छैन’ चुमनुब्री गाउँपालिका– १ सामागाउँका अध्यक्ष बीरबहादुर लामाले भन्नुभयो ‘तर आर्मीले ट्रयाक खनेको ठाउँमा पुरानो बाटो पुरिएको छ, जसले गर्दा हिड्न साह्रै गा¥हो भएको छ ।’

सिर्दिबासको जगत र सल्लेरीको बीचमा पर्ने भिरमा पनि आर्मीले सडक खनेको माटोले पुरानो बाटो पुर्दा भारी बोक्ने मान्छे र खच्चडलाई समस्या भएको छ । ‘ठूलो भारी ल्याएको खच्चडलाई फुकालेर कटाउनु पर्ने अबस्था छ’ वडा नम्बर– ३ सिर्दिबासका अध्यक्ष रामकुमार गुरुङले भन्नुभयो ‘आर्मीले ढुङ्गा हटाइदिएको थियो, फेरी खसेर उस्तै भएको छ ।’

उत्तरी गोरखामा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकाले पर्यटनलाई मुख्य जोड दिएका छन् । विशेषगरी चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल आरोहण गर्न, मनास्लु संरक्षण क्षेत्रको अवलोकन गरी लार्केपास गर्न, चुम उपत्यका लगायतका विभिन्न मनोरम स्थलहरुको भ्रमणका लागि पर्यटकहरु उत्तरी गोरखा पुग्ने गर्छन् ।

‘पदमार्गलाई चुस्तदुरुस्त राख्न हामीले सक्दो प्रयास गरिरहेका छौं’ चुमनुब्री गाउँपाकिला अध्यक्ष धनबहादुर गुरुङले भन्नुभयो ‘यस अघि समस्या रहेको ठाउँमा मर्मत गरिसकिएको छ । अहिले खासै समस्या छैन् ।’ केही दिन अघि परेको अबिरल वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरो हटाउनका लागि धार्चे गाउँपालिकाले प्रयास सुरु गरिसकेको अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । ‘प्राविधिक, वडा अध्यक्ष एवं अन्य जनप्रतिनिधि त्यहाँ गइसक्नुभएको छ,’ उहाँले भन्नुभयो ‘छिट्टै पहिरो हटाएर पदमार्ग सहज रुपमा सञ्चालन हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?