logo
२०८१ बैशाख २६ बुधवार



गण्डकीमा चारै वर्ष भ्रमण वर्ष

पर्यटन |


गण्डकीमा चारै वर्ष भ्रमण वर्ष



चन्द्रप्रकाश शर्मा/तारा चापागाईं दुवे

पोखरा, असोज ७ गते । पर्यटनलाई प्रदेश समृद्धिको प्रमुख आधार मानेको गण्डकी प्रदेश सरकारले चार वर्षसम्म पर्यटन वर्षका रूपमा मनाउन सुरु गरेको छ । गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन् २०१९ देखि सन् २०२२ सम्मलाई विभिन्न भ्रमण वर्षका रूपमा मनाउन सुरु गरिएको हो ।
प्रदेश सरकारले निर्णय नै गरेर सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० लाई छिमेकी भ्रमण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय गण्डकी प्रदेश भ्रमण वर्षका रूपमा मनाउने गरी कार्यक्रम अघि बढाएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले सन् २०१९–२०२२ लाई लक्षित गरी हरेक जिल्लामा जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्व तथा हरेक स्थानीय तहमा स्थानीय तह प्रमुखको संयोजकत्वमा उपसमिति
गठन गरेको छ ।
सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा मनाइरहेको गण्डकी प्रदेश सरकारले यो अवधिमा १५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो । प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलनको काम गरिरहेको भन्दै आन्तरिक पर्यटनको विकासमा ठूलो मद्दत पुगेको मन्त्री लम्सालले बताउनुभयो ।
‘हामीले गण्डकी प्रदेशका प्रवेशद्वार तथा विमानस्थलसँगको सहकार्यमा यातायात तथा हवाई मार्गबाट आउने पर्यटकको तथ्याङ्क राख्ने तयारी गरिए पनि एक गाउँबाट अर्को गाउँमा घुम्न जाने पर्यटकको तथ्याङ्क राख्न सकिएको छैन, अहिले गण्डकी प्रदेशका विभिन्न ठाउँमा देखिएको पर्यटकको घुइँचोले प्रदेश सरकारको लक्ष्य प्राप्ति हुन सक्छ’, मन्त्री लम्सालले भन्नुभयो ।
मन्त्री लम्सालले आन्तरिक पर्यटन वर्ष २०१९ को अवधि सकिन तीन महिना बाँकी नै रहेको र पर्यटनको सिजन पनि सुरु भएकाले यो तीन महिनामा उल्लेख्य पर्यटक आउने दाबी गर्नुभयो । ‘गण्डकी प्रदेशका मुख्य पर्यटकीय स्थलहरूमा चहलपहल हुने समय नै असोज–मङ्सिर हो, यो समयमा जाडो र गर्मी नहुने भएकाले हिमाली जिल्ला मुस्ताङदेखि तराईका जिल्ला नवलपरासीका पर्यटकीय स्थलहरू भरिभराउ हुनेगरेका छन् । यो अवधिमा हामीले लक्ष्य राखे जति पर्यटक भिœयाउन सक्छौँ भन्ने लागेको छ’, मन्त्री लम्सालले भन्नुभयो ।
सन् २०२० लाई सङ्घीय सरकारले भ्रमण वर्ष २०२० मनाउँदै गरेको अवस्थामा गण्डकी प्रदेश सरकारले भने छिमेकी भ्रमण वर्षका रूपमा मनाउन थालेको छ । ‘हामीले सन् २०२० प्रदेशमा छिमेकी देश भारत तथा चिनियाँ पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष मनाउन लागेका छौँ, यसले भ्रमण वर्षलाई समेत सफल पार्न मद्दत पुग्छ । यस्तै सन् २०२१ लाई पूर्वाधार निर्माणको वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय स्तरका पर्यटक भिœयाउने लक्ष्यसहित मनाउन लागेका हौँ’, मन्त्री लम्सालले भन्नुभयो ।
यस्तै भ्रमण वर्ष २०१९ लाई सफल बनाउन गण्डकी प्रदेशका पर्यटकीय आकर्षणबारे आन्तरिक पर्यटक माझ प्रवद्र्धन गर्न र व्यवसायीबीच सम्बन्ध स्थापित गर्न नेपालका विभिन्न ठाउँमा प्रचारात्मक कार्यक्रम गर्न लागिएको छ । असोज ९ गतेदेखि १६ गतेसम्म गण्डकी प्रदेशकातर्फबाट निम्तो लिएर मन्त्री लम्सालको नेतृत्वमा एक टोली भ्रमणमा निस्कने मन्त्रालयले जनाएको छ ।
जनप्रतिनिधि, सरकारी कर्माचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायी तथा उद्योगी व्यवसायी सम्मिलित समूहले प्रदेश १ को विराटनगर, तीनको काठमाडौँका सरकारबीच सम्बन्ध स्थापित, व्यवसायीहरूबीच अनुभव साटासाट, फोटो प्रदर्शन, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम लिएर जाने योजना बनाएको मन्त्रालयले जनाएको छ । अभियानमा सहभागीलाई असोज ९ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिदाइ गर्नुहुने र काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको समापन गर्नुहुने मन्त्रालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?