यलु जोशी
काठमाडौंँ, असोज २४ गते । पछिल्लो समयमा स्वदेशी र विदेशी पर्यटकहरू क्यान्योनिङको मज्जा लिन थालेका छन् । काठमाडौँबाट ३५ किलोमिटर दूरीको नुवाकोट जिल्लाको ककनीमा पर्ने सिस्नेरी छहरे र फुङफुङे क्यानोनिङका लागि सहज र आकर्षक मानिन्छन् । सिस्नेरी छहरे १४५ मिटर र फुङफुङे १८५ मिटरको छ ।
न्यु इरा प्रालिका प्रमुख मनीष कपालीले वसन्त ऋतुको आगमनसँगै दशँै तिहारसम्म क्यानोनिङको मौसम सुरु हुने बताउँदै भन्नुभयो, ‘‘अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकले क्यानोनिङ खेलमा रमाउन थालेका छन् ।’’
अरनिको राजमार्गमा पर्ने भोटेकोसी उपत्यका क्यानोनिङप्रेमीका लागि अर्को आकर्षक गन्तव्य बन्न गएको छ । राजधानीबाट एकसय किमी टाढा यो उपत्यका बाह्रबिसेबाट १५ किमी दूरीमा पर्छ । त्यहाँ काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला क्यानोनिङ गर्ने प्रसिद्ध प्रमुख आकर्षकस्थल रहेको जानकारहरू बताउँछन् ।
सडक नजिक, छोटो यात्रा, उपयुक्त तापक्रम तथा सिकारु र व्यावसायिक सबैलाई भोटेकोसी सजिलो र सस्तो गन्तव्यको रूपमा लिइने गरेको द लास्ट रिसोर्टको मार्केटिङ प्रमुख श्रीना प्रधानले जानकारी दिनुभयो । उहाँले असोजदेखि मङ्सिर तथा फागुनदेखि जेठसम्मको मौसम यो खेलका लागि उपयुक्त रहेको जानकारी दिनुभयो ।
क्यानोनिङ गरिसक्नुभएका प्रधान भन्नुहुन्छ, ‘‘गाइडले क्यानोनिङ कसरी गर्ने, डोरी कसरी तान्ने, कसरी तल झर्ने जानकारी दिएर यो साहसी खेल सुरु हुन्छ ।’’
गाइडको बिफ्रिङपछि छहरामा रहेको डोरीलाई कम्मरमा बाँध्दै सुरु हुन्छ क्यानोनिङ । प्रधानले भन्नुभयो– सबैले पहिलो तह पार गरे, जुन सजिलो थियो । दोस्रो तहबाट भने अलि लामो थियो झरना, जसलाई पार गर्दा रमाइलोका साथै अलि डर पनि लाग्यो तर गर्दै जाँदा सजिलो पनि लाग्यो । सबैभन्दा लामो झरना ४५ मिटरको थियो । त्यो पनि सहजै पार गरियो । जति जति तल झ¥यो त्यति नै रमाइलो हुँदोरहेछ । त्यसमा माथि झरेको पानीले भिजाउँदा झनै रमाइलो हुने अनुभूति त्यहाँ जानेहरूको छ ।
उहाँले पहिलो पटक क्यानोनिङ गर्दा डर भए पनि गाइडहरूले राम्रोसँग तालिम दिने भएकाले अलि राहत हुने जानकारी दिँदै भन्नुभयो– दुईजना गाइडको रेखदेखमा क्यानोनिङ गरिन्छ । एकजना झरनाको तल र अर्को माथि हुन्छन् । उहाँहरूले भने अनुसार गरेको खण्डमा कुनै चोटपटक नलाग्ने तथा सजिलोसँग गर्न सकिन्छ ।
चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, हाम्फाल्दै, चिप्लिँदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भएको कपालीले बताउनुभयो । उहाँले युरोप र अमेरिकामा निकै लोकप्रिय यो खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा खेल्न सकिने बताउनुभयो । नेपालमा धेरै झरना र खोला रहेको कारण पनि यसको सम्भावना बढी छ ।
द लास्ट रिसोर्टको क्यानोनिङका गाइड झोला श्रेष्ठले सानो ठूलो गरी झरनामा १५ स्टेप हुने जानकारी दिँदै भन्नुभयो, दुई ठाउँमा मात्र उद्धार गर्न सकिने खोँच हुन्छ ।
जङ्गलको बाटोमा १५ देखि ४५ मिनेटसम्म हाइकिङ गरी झरना भएको ठाउँसम्म पुग्नुपर्छ, त्यसपछि झरनाबाट डोरीको सहायताले झुण्डिँदै झर्ने खेल हो । श्रेष्ठले चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता भएको बताउनुभयो । उहाँले ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल भएको प्रष्ट पार्दै क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोलासहितका सामग्री
आवश्यक पर्दछ ।
अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मस्र्याङ्दी उपत्यका, भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यानोनिङ गर्ने प्रमुख स्थल हुन् ।
हिमालपारिको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने पाँच हजार २१५ मिटर उचाइको लुगा खोलाको छाँगा क्यानोनिङका लागि विश्वकै सबैभन्दा उचाइको पहिचान भएको छ । लमजुङको सदरमुकाम बेँसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे ताल र साचुप झरना साहसिक एवं व्यावसायिक खेलाडीले बढी रुचाउँछन् ।