logo
२०८० चैत्र १६ शुक्रवार



पोखरामा आन्तरिक पर्यटक बढे होटलमा ६० प्रतिशत ‘अकुपेन्सी’

पर्यटन |


पोखरामा आन्तरिक पर्यटक बढे होटलमा ६०  प्रतिशत ‘अकुपेन्सी’



एकराज गिरी

पोखरा, असोज २४ गते । पर्यटकीय सहर पोखरामा दशैँलगत्तै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । दशैँको टीकालगत्तै पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । यस्तो भीड दुई दिनयता पोखराका होटल तथा रेस्टुरेन्टमा बढेको हो । पश्चिमाञ्चल होटल सङ्घले पनि दशैँलगत्तै पोखरामा पर्यटक सङ्ख्या उल्लेख्य बढेको जनाएको छ ।
पोखराको पर्यटकीय केन्द्र फेवाताल, बेगनास, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पातले छाँगो, विश्व शान्ति स्तुप, सराङकोट, घान्द्रुक, लुम्ले, धम्पुस, सिक्लेस, पुनहिल, मर्दी हिमाललगायतका ठाँउमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल हेर्न र घुम्न आन्तरिक पर्यटकको ठूलो भीड लागेको छ । पोखराको फेवाताल किनारामा आन्तरिक पर्यटक चढेर आएका सवारी साधन पार्किङ गर्ने ठाँउ नहुँदा अस्तव्यस्त भएको छ । बिहीबार पोखराको फेवाताल किनार बाराही घाटमा आन्तरिक पर्यटक र पोखरा नगरभित्र सञ्चालन हुने बसका कारण ट्राफिक व्यवस्थान अस्तव्यस्त देखिएको थियो । सडक साँघुरा र पर्यटकको आगमन बढेका कारण सवारी साधन पार्किङ गर्न समस्या भएको बताइएको छ । त्यस्तै पोखराका धार्मिक क्षेत्रहरू विन्ध्यवासिनी, तालबराही मन्दिरमा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको छ ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटकका कारण होटेलमा दशैँको टीकालगत्तै आन्तरिक र भारतीय पर्यटक बढेको बताउनुभयो । उहाँले विगतमा जस्तो आन्तरिक पर्यटक आगमनमा कमी आएको समेत बताउनुभयो । दशैँअघिबाट पर्यटकको सङ्ख्या कम भए पनि टीकालगत्तै बढेको उहाँको भनाइ छ । पोखराका होटलको अकुपेन्सी अहिले ६० प्रतिशतको हाराहारीमा छ, उहाँले भन्नुभयो । अहिले बिस्तारै आन्तरिक र भारतीय पर्यटकको सङ्ख्या बढेको छ राम्रै बढेको छ, उहाँले थप्नुभयो । उहाँका अनुसार दशैँको टीकालगत्तै नेपाली घुम्न निस्कने भएकाले अहिले होटलमा आन्तरिक पर्यटक २५ प्रतिशत, भारतीय पर्यटक २० प्रतिशत र बाह्य पर्यटक १५ प्रतिशत गरी ६० प्रतिशत अकुपेन्सी रहेको छ । विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या पूर्णिमासम्म बढ्न सक्ने अनुमान उहाँको छ तर बाह्य पर्यटक अहिले बिस्तारै घट्दो अवस्थामा छ, उहाँले भन्नुभयो, दशैँमा पदयात्रामा जाने आन्तरिक पर्यटक एक÷दुई रात पोखरामा बस्ने भएकाले होटल बुकिङ भएका छन् । अध्यक्ष तुलाचनले दशैँको बिदा छोटो भएकाले विगतभन्दा पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । दशैँलगत्तै पोखरा घुम्ने पर्यटक बढेका छन् तर विगतको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या र बसाइँ अवधि घटेको उहाँको भनाइ छ ।
विगतमा कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो, त्यसैले सरकारी कर्मचारी परिवारसहित घुम्न आउने बढी हुन्थ्यो तर अहिले छिट्टै कार्यालय र विद्यालय खुल्ने भएकाले विगतको सङ्ख्याभन्दा कम भयो । पोखरामा पर्यटकको सङ्ख्या कम देखिएको भए पनि पदयात्रामा उल्लेख्य देखिएको अध्यक्ष तुलाचनले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने र सीधै घोरेपानी, घान्द्रुक, धम्पुस, छोमरोङ, सिक्लेस, मर्दी हिमाल, अन्नपूर्ण बेसक्याप र पुनहिलमा पदयात्रामा गएकाले पोखरामा पर्यटक कम देखिएको उहाँको भनाइ छ ।
पछिल्लो समय आन्तरिक पर्यटक पदयात्रामा जान रुचाउने भएकाले पोखरा आउने एक वा दुई रात बसेर टे«किङ जाने गरेका छन् । पोखराका पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटकको आगमनले राहत दिएको अध्यक्ष तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो, तिहारसम्म आन्तरिक पर्यटकले धान्छ भन्ने लागेको छ । विगतमा दशैँमा पोखराका होटलको अकुपेन्सी ८० प्रतिशतसम्म पुगेको थियो तर अहिले धेरै कम भयो अध्यक्ष तुलाधनले भन्नुभयो, आन्तरिक र भारतीय पर्यटकको सङ्ख्या वृद्धि भए तिहारसम्म अकुपेन्सी ७० प्रतिशत पुग्ने अनुमान गर्न सकिन्छ । अध्यक्ष तुलाचनले बाह्य पर्यटकको सङ्ख्या बढन कठिन भएको बताउनुभयो । सडकको अवस्था र अहिलेसम्म पानी परिरहेका कारण बाह्य पर्यटक बढने अवस्था न्यून रहेको उहाँको अनुमान छ ।
पोखरामा पर्यटकस्तरका आठ सयभन्दा बढी होटल सञ्चालनमा छन् । सञ्चालित होटलमध्ये पश्चिमाञ्चल होटल सङ्घमा पाँच सय होटल आबद्ध छन् । ती होटलमा करिब २२ हजार शय्या रहेको होटल सङ्घका अध्यक्ष तुलाचनले जानकारी दिनुभयो । पोखराको होटल क्षेत्रमा मात्रै हालसम्म दुई खर्ब रुपियाँभन्दा बढि लगानी भइसकेको अध्यक्ष तुलाचनले बताउनुहुन्छ । उहाँका अनुसार वार्षिक तीन अर्ब रुपियाँका दरले पोखराको पर्यटनमा लगानी थपिने गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?