बेलिना थापा
लमजुङ, असोज २८ गते । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ९ मा पर्ने संसारकै अग्लो मध्येको हिमताल तिलिचो घुम्ने मौसम सुरु भएको छ । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा रहेको तालमा दशैँलगत्तै पर्यटकको चहलपहल बढेको छ ।
स्थानीयका अनुसार दशैँ लगत्तै तिलिचो आउने पर्यटक बढ्न थालेका छन् । मनाङ ङिस्याङ गाउँपालिका ९ का अध्यक्ष रिन्जेन दोर्जे गुरुङका अनुसार दैनिक दुई सय पर्यटक तिलिचो पुग्ने गरेका छन् । आन्तरिक तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार तिलिचो ताल पुग्नेमा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक बढी छन् । अहिले तिलिचो जानेको लर्कोले अन्नपूर्ण पदमार्ग भरिभराउ भएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार पर्यटक जिपका साथै मोटरसाइकलमा जाने गरेका छन् । मनाङमा मोटरबाटो पुगेपछि आन्तरिक पर्यटकलाई तिलिचो घुम्न सहज भएको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘तिलिचो घुम्ने प्रमुख सिजन सुरु भएको छ । आन्तरिक पर्यटक बढ्न थालेका छन् । विदेशी पनि उत्तिकै छन् । होटलहरू पनि खचाखच हुन थालेका छन् । ’
पाँच वर्षअघि माथिल्लो मनाङ सडक सञ्जालमा जोडिएकाले पर्यटकलाई आउन सहज भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सडक निर्माणपछि स्वदेशी पर्यटकको ओइरो लाग्न थालेको हो । विदेशी तथा स्वदेशी पर्यटक लमजुङको बेँसी सहरबाट जिप चढेर र मोटरसाइकलमार्फत मनाङ आउने गरेका छन् । खुला आकाश र नीलो देखिने ताल घुम्न यतिबेला दैनिक सयौँ पर्यटक तिलिचो पुग्ने गरेका छन् । तिलिचोमा फिल्मका गीत तथा म्युजिक भिडियो छायाङ्कन समेत हुँदै आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गको मनाङसम्म आइपुग्दा दैनिक दुई सयदेखि २५० सम्म पर्यटकको रेकर्ड हुने गरेको छ । दशैँ लगत्तै स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उहाँले बताउनुभयो । अधिकांश स्वदेशी पर्यटक तिलिचो जाने र केही मात्रै थोराङ्ला पास जाने गरेका छन् । उहाँका अनुसार अक्टोबरभर तिलिचो घुम्ने सिजन हो ।