logo
२०८१ मंसिर ८ शनिवार



मन्दिर पूर्ण भएपछि काँक्रेविहारमा पर्यटकको चहलपहल

पर्यटन |


मन्दिर पूर्ण भएपछि काँक्रेविहारमा पर्यटकको चहलपहल


मुना हमाल
सुर्खेत, कात्तिक १ गते । दोस्रो लुम्बिनीका रुपमा परिचित सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक क्षेत्र काँक्रेविहारमा पर्यटकको चहलपहल बढेको छ । शिखर शैली मन्दिरको आकारमा काँक्रेविहारलाई पुनः निर्माण सम्पन्न भएपछि त्यहाँ पर्यटकको चहलपहल बढेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को वडा कार्यालयले दिएको तथ्याङ्क अनुसार साउनयता तीन महिनाको अवधिमा २९ हजार ८६७ जनाले अवलोकन गरेका छन् । साउन महिनामा १२ हजार ६३४, भदौ महिनामा सात हजार १८६ र असोज महिनामा १० हजार ४७ जनाले अवलोकन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा ९७ हजार ६७० जनाले अवलोकन गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा वृद्धि हुने वडा कार्यालयको भनाइ छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक र बाहय पर्यटकहरु आउने गरेको वडा कार्यालयले जनाएको छ ।

काँक्रेविहारको पुननिर्माण सम्पन्न हुनुका साथै अहिले पर्यटकीय सिजन र चाडपर्व भएकाले पनि पर्यटकहरुको चहलपहल बढेको हो । रारा ताल घुम्न जाने पर्यटकहरु बढेकाले पनि यहाँ पर्यटकहरुको चहलपहल बढेको हो । कर्णालीका अन्य पर्यटकीय क्षेत्रमा जाने केन्द्र सुर्खेत भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

गएको भदौ महिनामा काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भएको थियो । पुरातत्व विभागले काँक्रेविहारको भग्नावशेष उत्खनन् गरेर पुनःनिर्माण गरेको थियो । काँक्रेविहार १०५ फिट अग्लो रहेको छ । यसको रंगरोगनलगायतका कामहरु गर्न बाँकी छ ।

पर्यटकको मनोरञ्जनका लागि घोडा सवार कार्यक्रम समेत ल्याइएको छ । वडा कार्यालयले पर्यटकको सहजताका लागि र मनोरञ्जनका लागि घोडा सवार कार्यक्रम ल्याएको वडा अध्यक्ष मान्नधरले जानकारी दिनुभयो । उहाँले चिडिया घर र बालउद्यान पार्क बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

काँक्रेविहारमा आएका पर्यटकले काँक्रेविहारको संरक्षणमामा सम्बद्ध पक्षले ध्यान दिन सुझाब दिएका छन् । डोडीबाट रारा हुँदै काँक्रेविहार अवलोकन गर्न आउनु भएका डोटीका अंकबहादुर खड्काले पूर्वजहरुले बनाएका ऐतिहासिक रहेको भन्दै काँक्रेविहारको संरक्षणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर वडा नं ८ की सिमिला खड्काले धेरै वर्षपछि काँक्रेविहार निर्माण भएर नयाँ देख्न पाउँदा खुशी भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?