logo
२०८१ मंसिर ८ शनिवार



तस्बिरमा मुस्ताङको ढुम्बा ताल, सौन्दर्यले लोभ्याउँछ सबैको मन

पर्यटन |


तस्बिरमा मुस्ताङको ढुम्बा ताल, सौन्दर्यले लोभ्याउँछ सबैको मन


ठाकुरप्रसाद आचार्य
मनाङ, कार्तिक ४ गते । विहानीपख निलगिरी हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिमतिर धौलागिरी र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेपछि ताल पर्यटनको केन्द्र बन्न थालेको हो ।

मुस्ताङ जाने जो कोही ढुम्बा ताल नपुगी फर्किदैनन् । तालको सुन्दरतामा रमाउने र तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने धेरैको रहर हुन्छ ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल पछिल्ला केही वर्ष यता चर्चामा आउन थालेको हो । निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर एकआपसमा माया साटासाट गर्ने गर्दछन् ।

यातायात सञ्जालसँग मुस्ताङ जोडिएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । उपल्लो मुस्ताङ, कोरला र मुक्तिनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने स्थानीय संचारकर्मी निरज थकालीले बताउनुभयो । ढुम्बा ताल पुग्न सडक विस्तारको साथै होटल खोलिएको छ । नजिकै रहेको ठिनी गाउँमा होमस्टे पनि खुलिएका छन् ।
तालको सुन्दरतालाई चलचित्रमा उतार्न पछिल्लो समय ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेको छ ।

नेपाली चलचित्र ‘जेरी’ को पहिलोपटक यही तालमा छायाँङ्कन भएपछि तालको थप चर्चा हुन थालेको हो । तालले नयाँ पुस्तालाई आकर्षित गरेको छ । स्थानीय रुपिका थकालीले भन्नुभयो ‘मुस्ताङ आउने प्रायः युवायुवतीहरु ढुम्बा ताल पुग्छन् ।’ ढुम्बा तालको अवलोकन नगरी फर्किंदा भ्रमण नरमाइलो हुुन्छ ।

समुद्र सतहदेखि करिब तीनहजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । दशमिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ ।

तालबाट पूर्वमा नीलगिरी र पश्चिममा धौलागिरी हिमाल दृश्यावलोकन गर्न सकिन्छ । यहाँ देनिक रुपमा एकसय देखि पाँचसयसम्म पर्यटकहरु आउने गरेको पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।

तालसम्म पुग्न जोमसोमबाट सडक यातायात पुगेको छ । तालको संरक्षण र भौतिक पूर्वाधारको निर्माणका लागि घरपझोङ गाउँपालिकाले डिपिआर तयार पारेको छ । ताललाई संरक्षण गर्न र प्रचारप्रसार गरी पर्यटन केन्द्र बनाउन लागिएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मिला गुरुङले बताउनुभयो ।

तालको सौन्दर्यलाई बढाउन भौतिक पूर्वाधारको निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तालको वरपरका क्षेत्रलाई समेटेर पार्क निर्माण र रातको समयमा बक्तिको व्यवस्था गर्ने योजना रहेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?