वसन्त पराजुली
सौराहा, कात्तिक ७ गते । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै क्षेत्रीय होटल सङ्घ सौराहाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रात्रिकालीन जङ्गल जिप सफारी गर्ने निर्णय गरेको छ । सङ्घको बुधवार सम्पन्न बैठकले मध्यवर्ती क्षेत्रमा रात्रिकालीन जिप सफारी गर्ने निर्णय गरेको हो ।
पर्यटन वर्ष २०२० लाई केन्द्रित गरेर हामीले सौराहामा रात्रिकालीन जिप सफारी गराउने निर्णय गरेका छौँ, बैठकपछि जानकारी दिँदै सङ्घका महासचिव गुणराज थपलियाले भन्नुभयो, “सरोकारवाला निकाय तथा संस्थासँग छलफल गरेर यसलाई कार्यान्वयनमा ल्याउने छौँ ।”
निकुञ्जसँगै रहेको राप्ती नदी किनार किनारै मध्यवर्ती क्षेत्र हुँदै रात्रिकालीन जङ्गल जिप सफारी गर्ने सङ्घको निर्णय हो । निकुञ्जबाहिर राप्ती नदीको ड्याम नै ड्याम हामीले लोथर निकाल्ने गरी रात्रिकालीन जङ्गल जिप सफारी गराउने निर्णय गरेका हौँ, उहाँले भन्नुभयो ।
अहिले पनि दिनमा निकुञ्जभित्र र मध्यवर्ती क्षेत्र दुवैमा जिप सवारीको व्यवस्था छ । सौराहा क्षेत्रबाट मात्रै हाल दैनिक ३२ वटा जिप निकुञ्जभित्रको जङ्गल सफारी गर्ने गर्दछन् भने यही हारहारीमा निकुञ्जबाहिर मध्यवर्ती क्षेत्रमा छन् ।
यसरी गरिने जिप सफारीले बाघ, गैँडाजस्ता जनावर र चराचुरुङ्गीलाई असर गर्ने भनी संरक्षणकर्मीले चिन्ता गरिरहेका बेला व्यवसायीले रात्रिकालीन जिप सफारीको निर्णय गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले पर्यटन वर्षमा सौराहाले कुनै न कुनै नयाँ वस्तु पस्कने क्रममा रात्रिकालीन जिप सफारीको कुरो आएको बताउनुभएको छ ।
सौराहाले पर्यटनका क्षेत्रमा लामो समयदेखि नयाँ कुरा पस्कन सकेको छैन । अहिले आएको रात्रिकालीन जङ्गल जिप सफारी अलिकति भए पनि नयाँ कुरो पस्कने पहल हो । यसले वन्यजन्तु र चराचुरुङ्गीलाई असर नगर्ने गरी सञ्चालन गरिनुपर्छ भन्ने मेरो मान्यता हो, उहाँले भन्नुभयो ।
निकुञ्जलाई मान्य छैन : निकुञ्ज प्रवक्ता
रातिको समयमा जङ्गल जिप सफारी निकुञ्जका लागि मान्य नहुने प्रवक्ता गोपाल घिमिरेले बताउनुुभयो ।
वन्यजन्तु, वनस्पति, सरिसृप तथा चराचुरुङ्गीलाई नै असर पर्ने गरी निकुञ्जले आफ्नो मध्यवर्ती क्षेत्रमा रात्रिकालीन जङ्गल सफारी गर्न दिने छैन, उहाँले भन्नुभयो, “निकुञ्जको सहमतिबेगर भएको निर्णय हाम्रा लागि मान्य हुँदैन ।”
दिनमै हुने जिप सफारीले सुरक्षा चुनौती दिइरहेका बेला झन् रातिसमेत यस्तो सफारी हुने कुरा सुरक्षाका दृष्टिले अझै संवेदनशील र चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
निकुञ्जका कार्यवाहक प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्का पनि रात्रिकालीन जिप सफारी व्यावहारिक नभएको तर्क गर्नुहुन्छ । निकुञ्ज ऐन तथा नियमावलीले निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रमा सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै अवलोकन गर्न पाउने व्यवस्था गरेको छ, खड्काले भन्नुभयो, यो नियमविपरीत रात्रिकालीन जिप सफारी सम्भव हुने कुरै हैन ।
कतिपय वन्यजन्तु र चराचुरुङ्गी रातिमा शान्त बस्न रुचाउँछन् भने कतिपय रातिमै आफ्ना गतिविधि बढाउने जनावर हुन्छन्, खड्काले थप्नुभयो, “शान्त रुचाउने जनावर तथा चराचुरुङ्गीलाई त यसले असर गर्छ गर्छ अझै रातिमा सक्रिय हुने जनावरलाई पनि गाडीको लाइटले प्रभाव पार्छ ।”
२०२९ सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु तथा ६६० प्रजातिका चराचुरुङ्गी यो क्षेत्रका आर्कषण हुन् । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्ज र निकुञ्जसँगै जोडिएका ७६६ वर्ग किलोमिटर क्षेत्रफल भएको मध्यवर्ती क्षेत्र निकुञ्जका जनावर, चराचुरुङ्गी र सरिसृप आहोरोदोहोर गर्ने क्षेत्र हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज आफैँमा सुन्दर र शान्त छ । निकुञ्जमा रहेका बीसहजारी तालजस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण अझै बढाएको छ । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी रात्रिकालीन जङ्गल जिप सफारी संरक्षणका दृष्टिले उपयुक्त नहुने तर्क गर्नुहुन्छ ।