राममणि दाहाल
हेटौँडा, कात्तिक १२ गते । विगत केही वर्षयता नेपालीमा घुमफिरको संस्कृति बढ्दो छ । विदाको समयमा र विशेषत लामो विदा हुँदा देशभित्रै र विदेशमा घुम्न जानेको सङ्ख्या वर्सेनि बढ्दै गएको छ ।
दशैँमा हुने लामो विदाको अवसर छोपेर मकवानपुरमा सबैजसो पुस्ताका कोही सौराहा, कोही पोखरा, कोही एबिसी, कोही जनकपुर, कोही लुम्बिनी, कोही कता त कोही कता देशकै विभिन्न स्थानमा पुगे ।
सामाजिक सञ्जाल हेर्दा अहिले कतै जिल्ला नै सुनसान झै लाग्छ । कोही म इलाम तिर छु भन्दै छन्, कोही म त एक साताका लागि रारा हिडेको सामाजिक सञ्जालमा लेख्दै छन् त, कोही हिमाल नजिक पुगेर प्राकृतिक सौन्दर्यताको वर्णन तस्विर र प्रत्यक्षरुपमा सामाजिक सञ्जालमा जोडिएर गर्दै छन् ।नेपाल र भारतको धार्मिकस्थलमा तीर्थाटनका लागि जानेको सङ्ख्या पनि विदाको समयमा उल्लेख्य पाइन्छ ।
केही भारतको धार्मिक पर्यटकीय स्थलको भ्रमणका लागि रेल कुर्दै गरेको सामुहिक तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्छन् त कोही भ्रमणका क्रमका रमाइलो गरेका तस्विर र भिडियो तछाडमछाड गर्दै आ–आफ्ना सामाजिक सञ्जालमा अपलोड गरेको देखिन्छ ।
जे होस् पछिल्लो समय घुमफिरको संस्कृति बढिरहेको छ । अझ आन्तरिक पर्यटनमा उत्साह देखिएको छ । सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गर्दै गर्दा भएका यी घुमफिर र भ्रमणले आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।
घुमफिर संस्कृतिको विकाससँगै पर्यटन प्रबद्र्धनको उन्नयन भएको छ र यसले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ ।
दशैँमा निजी र सामुदायिक विद्यालय लामो विदा हुने भएकोले ठूलो सङ्ख्यामा शिक्षक पारिवारिक भ्रमणमा निस्कने गरेको पाइन्छ ।
त्योसँगै विद्यार्थी, राजनीतिककर्मी, उद्योगी, व्यवसायी र कर्मचारी, पत्रकारलगायतका पेशाकर्मीहरुले चाडपर्वको विदाको अवसरलाई एक सातादेखि दुई सातासम्मको घुमफिरमा उपयोग गर्ने गरेको पाइन्छ ।
वि.सं. २०५४ सालदेखि देशभित्रका धार्मिक एवं पर्यटकीय स्थलको घुमफिर र भ्रमण गर्दै आएको नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य बताउनुहुन्छ ।
मनहरी गाउँपालिकाको मसिनेस्थित पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका आचार्य घुमफिरलाई निरन्तरता दिंदै दशैँ विदामा यो वर्षपनि राराको भ्रमणमा पुग्नुभयो ।
चाडपर्व र विदाको समयमा कामको चाप कम हुने भएकोले उद्योगी, व्यवसायी र कर्मचारीलगायतका पेशाकर्मी घुमफिरको लागि जाने गरेको पाइन्छ ।
नवलपरासीको सीजीधामदेखि स्वर्गद्धारी, खप्तड, नगरकोटसँगै जिल्लाभित्र कै इन्द्रसरोवर, दामन, चितलाङ, मकवानपुरगढी, शहीद स्मारक, त्रिखण्डी, गुम्बाडाँडालगायतका धार्मिक– पर्यटकीय स्थलमा जानेको सङ्ख्यापनि उल्लेख्य रहेको छ ।
यस्तै भारतको धार्मिक पर्यटकीय स्थल सिक्किम, दार्जिलिङ्ग, वनारस, दिल्ली, दक्षिण भारत, राजस्थानलगायतका स्थानमा जाने मकवानपुरेको सङ्ख्या वर्सेनी बढ्दो छ ।