सन्तोष राउत
सोलुखुम्बु, कात्तिक १३ गते । जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने धापबाट सुरु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले औपचारिक उद्घघाटन गर्नुभएको रेसको सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुने आयोजक संस्था ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो ।
धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँ जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै दौडने छन् ।
प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने अध्यक्ष शेर्पाले बताउनुभयो । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् ।
रेसमा बेल्जियम, स्वीटजरल्यान्ड लगायतका यूरोपेली देशका धावक पनि सहभागी छन् । रेसमा चर्चित विन्टर एथलेक्टिस दाछिरी शेर्पा सहभागी हुनु भएको छ । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसक्नु भएको छ । पाँचौं पटकसम्म अन्तर्राष्ट्रियस्तरको दौडमा विजेता बनेका दाछिरी सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका हुनुहुन्छ ।
३१० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिन लाग्नेछ । रेसमा पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पुग्नुपर्नेछ । फर्किने क्रममा धावकहरु गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् ।