logo
२०८१ मंसिर ८ शनिवार



माछापुछ्रे आधार शिविरमा उद्धार केन्द्र

पर्यटन |


माछापुछ्रे आधार शिविरमा उद्धार केन्द्र


तारा चापागाईं दुबे

कास्की, कात्तिक १६ गते । पदयात्रामा गएका पदयात्रीको सहयोगसँगै सुरक्षाका लागि अन्नपूर्ण पदमार्गको माछापुछ्रे आधार शिविरमा उद्धार केन्द्र स्थापना गरिएको छ ।
कोरिया टेलिकमको आर्थिक सहयोगसँगै अम हो गिल ह्युमन फाउन्डेसन कोरिया र नेपाल पर्वतारोहण सङ्घको प्राविधिक सहयोगमा उद्धार केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापना भएपछि अन्नपूर्ण आधार शिविर जाने पदयात्रीहरूलाई बाटोमा कुनै समस्या परे ड्रोनले सहयोग गर्नेे पनि जनाइएको छ ।
अन्नपूर्ण गाउँपालिका–११ स्थित माछापुछ्रे आधार शिविरमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो ।
पदयात्राका लागि गएकाहरू बाटोमा अलमलिएमा, कतै हराए, बिरामी परेमा, घाइते भए, हिउँमा पुरिनेलगायतका समस्यामा परे ड्रोनले उनीहरूको उद्धारमा सहयोग गर्ने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।
पदयात्रामा जानेहरूलाई एउटा डिभाइस दिइने र सो डिभाइस सीधै केन्द्रमा रहेको कम्प्युटरसंँग ट्रयाकिङ गरिने भएकाले कहीँकतै समस्यामा परे सो कुराको जानकारी केन्द्रमा हुने र केन्द्रले डोनमार्फत फोटो खिची आवश्यकतानुसार सबै खालका उद्धारका कार्य गर्न सहज हुने लामाले बताउनुभयो ।
स्थापना गरिएको केन्द्र उचाइको हिसाबले विश्वमै पहिलो सुविधा सम्पन्न केन्द्र रहेको दाबी गरिएको छ । यो केन्द्रको स्थापना भएपछि विगतमा पदयात्रीले पाउने गरेको समस्या र उद्धार हुन नसक्दा पदयात्रीको मृत्यु हुनेसमेत घटना अब नदोहोरिने समेत उहाँले बताउनुभयो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरूले केन्द्र स्थापना गरेको जानकारी दिँदै कोरियन टेलिकमका उपनिर्देशक म्याङ गन चुङले आगामी दुई वर्षसम्म केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जानकारी दिनुभयो । अब आफूहरूले स्थानीय युवालाई उद्धार एवं राहतका लागि आवश्यक तालिम दिने भन्दै केन्द्र स्थापनासँगै विगतमा आपतविपतमा परेको, हराएका पदयात्रीलाई खासै समस्या नहुने पनि उहाँले बताउनुभयो ।
हम हो गिल ह्युमन फाउन्डेसनका कार्यकारी निर्देशकसमेत रहेका अम हो गिलले आफूले विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गरेको जानकारी दिँदै अन्नपूर्ण प्रथम आरोहण गर्दा धेरै जोखिम र समस्या आइपरेको स्मरण गर्नुभयो । आरोहरण गरेको बेला निकै खुसी लागेको स्मरण गर्दै बाटोमा पाइने आपतविपतले सधैँ केही गर्न घच्घच्याइरहेको हुँदा आफूले केन्द्र स्थापना गर्नका लागि प्रेरणा मिलेको पनि बताउनुभयो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङका अनुसार अन्नपूर्ण आधार शिविरमा मात्र वार्षिक रूपमा ६० हजार विदेशी र दुई लाख ५० हजारको हाराहारीमा स्वदेशी पर्यटकहरू जाने गरेका छन् । कुनैकुनै बेला पदयात्रामा जाने पर्यटकहरू बाटोमा अलमलिने, घाइते हुने र केही हिउँमा हराउनेलगायतका समस्या आइपर्ने गरेकाले केन्द्रको स्थापना गरिएको हो ।
यसैबीच केन्द्रको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री गुरुङले केन्द्रको स्थापना भएपछि पदयात्रामार्ग सुरक्षित रहेको बताउनुभयो । स्थापना गरिएको आधुनिक प्रविधिसहितको उद्धार केन्द्रले पदयात्राका क्रममा समस्या परेकाहरूलाई समयमै उद्धार गर्न सहयोग गर्ने भएकाले पदयात्राका लागि आउने चाहने देशी तथा विदेशी पर्यटकलाई पदमार्ग सुरक्षित रहेको मुख्यमन्त्रीको भनाइ थियो ।
प्रदेश सरकारले पर्यटनमार्फत प्रदेशलाई समृद्धिको बाटोमा लैजाने गरी कार्ययोजना बनाएर अघि बढेकाले यस्ता कुराले समेत पर्यटन आगमनमा वृद्धि हुने उहाँको भनाइ थियो । प्रदेशमा धेरैभन्दा धेरै पर्यटक आउने वातावरण बनाउन आवश्यक रहेको र यसका लागि सरकार निजी क्षेत्र सहकार्य गरी अघि बढ्ने समेत उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?