logo
२०८१ मंसिर ८ शनिवार



होमस्टेमा दैनिक पाँच सय पर्यटक

पर्यटन |


होमस्टेमा दैनिक पाँच सय पर्यटक



नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक १९ गते । बाँकेको चिसापानीस्थित गाभर भ्याली सामुदायिक होमस्टेमा घुम्न आउने आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।
नेपालगञ्ज–सुर्खेत राजमार्गको छेउमा रहेका ती होमस्टेमा हाल आएर दैनिक पाँच सयजतिको हाराहारीमा पर्यटक आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । सरकारले सूचीकृत गरेका प्रमुख एक सय पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली होमस्टेको प्रचारप्रसार व्यापक गरिएपछि त्यहाँ घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएको उहाँले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार होमस्टेमा बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का अन्य जिल्लाबाट बढी मात्रामा पाहुना आउने गरेका छन् । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षण केन्द्र रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।
थारू र मुगाली समुदायद्वारा सञ्चालित ती होमस्टेमा दशैँ र तिहारका बेलासमेत आन्तरिक पाहुनाको चहलपहल नघटेको चौधरीको भनाइ छ । बाहिरी जिल्लाका साथै पर्व मनाउन बाँके फर्किएका धेरै सर्वसाधारण होमस्टेमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । दशैँ र तिहारका बेलामा बाहिरी जिल्लासँगै बाँके जिल्लाभित्रैका सयौँ पाहुना यहाँ आउनुभएको थियो, चौधरीले भन्नुभयो, चाडपर्व मान्न गृहजिल्ला आएका धेरै जसो समय मिलाएर होमस्टेमा आएको उहाँको भनाइ छ ।
चाडपर्वका बेलामा समेत पाहुनाको चहलपहल नघटेकाले होमस्टे सञ्चालक उत्साहित भएको अध्यक्ष चौधरी बताउनुहुन्छ । तिहारको बिदामा पोखरा, काठमाडौँलगायतका ठाउँबाट पर्यटन व्यवसायीसमेत गाभर भ्याली घुम्न आएका थिए । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँका अनुसार पुराना होमस्टेलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी होमस्टे र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि होमस्टे विस्तार भएका छन् । च्यामामा करिब एक करोड रुपियाँको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न रिसोर्ट प्रकारको होमस्टे सञ्चालनमा ल्याउनुभएको छ । होमस्टेभन्दा अलि फरक तरिकाले सुविधा सम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
२०७० मा सुरु भएको गाभर भ्याली होमस्टे अहिले नेपालकै नमुना होमस्टेका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको अध्यक्ष चौधरीले बताउनुभयो । सो होमस्टेमा २०–३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले २० लाख र कुनैले ५० लाख रुपियाँसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ ।
नेपालमै पहिलोपटक आफूहरूले आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । यो देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुवात गर्ने स्थल हो, चौधरीले भन्नुभयो, गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ । बाँकेको पहिलो सामुदायिक गाभर भ्याली होमस्टेमा १७ घरले आन्तरिक र विदेशी पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?