प्रकाशचन्द्र भट्टराई
दमौली, कात्तिक २० गते । तनहुँको सदरमुकाम दमौली हुँदै बग्ने मादी नदीमा कृत्रिम ताल निर्माण गरिने भएको छ । दमौलीदेखि सिसाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य व्यास नगरपालिकाको पहलमा उक्त नदीमा कृत्रिम ताल निर्माण गरिन लागिएको हो ।
मादी नदीमा ताल निर्माण गरेर अन्य पूर्वाधार बनाउने र समग्र यस क्षेत्रकै पर्यटन विकास गर्ने उद्देश्यसहित नगरपालिकाले बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ । मादी नदीलाई व्यवस्थित गरी यहाँका स्थानीयवासीको आर्थिक जीवनस्तर सुधार गर्न बहुउद्देश्यीय परियोजना अगाडि बढाउन खोजिएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा पर्ने मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा ४० लाख रुपियाँ बजेट विनियोजन
गरेको छ ।
गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सले प्रारम्भिक अध्ययन गरिसकेको छ । सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले प्रराम्भिक अध्ययनबाट मादीको पानी र प्राकृतिक स्रोतलाई व्यवस्थित गर्न सके आयआर्जनको स्रोत बन्न सक्ने सम्भावना देखिएको बताउनुभयो ।
कृत्रिम तालका लागि जग्गाको व्यवस्थापन गर्न सके यो परियोजना पूरा गर्न सकिने बताउनुभयो । परियोजना कार्यान्वयन गर्न सके यस क्षेत्रको पर्यटकीय, धार्मिक, वातावरणीय, तथा सांस्कृतिक विकास हुने भन्दै उहाँले मादी नदीमा ताल बनाएर डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।
गत चैतमा सम्पन्न लगानी सम्मेलनमा सरकारले उक्त परियोजनलााई पनि प्रस्ताव गरेको थियो तर यसमा बाह्य लगानीका लागि लगानीकर्ता सहमत भने हुन सकेनन् । परियोजनाका लागि कुल छ अर्ब रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।