logo
२०८१ मंसिर ९ आईतवार



आहा ! महाबु

पर्यटन |


आहा ! महाबु


कमल शर्मा

दैलेख, मङ्सिर १० गते । महाबुधामको चारैतिर अग्ला लेक, बीचमा आँखाले नभ्याउने पाटन । पाटन नजिकैको थुम्कोमाथि विशाल ढुङ्गा । ढुङ्गामाथि पूजा आराधनाका लागि शिवलिङ्ग । वर्षामा झमझम पानी पर्ने, एकैछिनमा बादल फाट्ने र ढाकेपछि लेकमै हराएझैँ हुने पाटनमा फुलेका बुकीझारको सौन्दर्यले कठिन उकालो चढेर थाकेका मन प्रफुल्ल हुन्छ । अनि मुखबाट निस्कन्छ, आहा ! क्या राम्रो महाबु ।
सुन्दर पाटन हेर्ने चाहने र धार्मिक पर्यटकको धरोहरका रूपमा रहेको महाबु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि केन्द्रका रूपमा विकास हुँदै गएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा भव्य मेला लाग्दछ ।
जनैपूर्णिमाको दिनमा मुख्य पूजा गरिने भएकाले यो स्थानमा भगवान शिवको दर्शन गर्न दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौँ र भारतबाट समेत भक्तजन आउँछन् । दैलेख सदरमुकामको दुई दिनको पैदल यात्रा र छ घण्टाको गाडी यात्रापछि महाबु लेकको सौन्दर्यले मन नै प्रफुल्ल हुन्छ ।
महावुको शिव भगवान्को मन्दिरबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट र बर्दिया, टीकापुर, कैलाली, नेपालगञ्जसम्म झिलिमिली देख्न सकिने त्यहाँ जाने बूढापाका बताउँछन् ।
केही दिनअघि त्रिदेशीय सडकको अवलोकन गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिलामन्त्री प्रकाश ज्वालासहितको टोलीले महाबुको सौन्दर्य देखेर दङ्ग परेको थियो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको महŒवपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कालीकोट र दैलेखको जिल्लाको सङ्गममा रहेको महाबुलाई पर्यटन हबको विकास गर्ने बताउनुभयो ।
पछिल्लो समय जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा महाबु पर्ने गरेको छ । विभिन्न जिल्लाबाट दैलेखलाई कर्मथलो बनाएर बसेका कर्मचारीसमेत महाबु जाने गरेका छन् । केही दिनअघि मात्र महाबु पुग्नुभएकी नेपालगञ्जकी शिल्पा कुँवरले महाबुमा जाँदा छुट्टै प्रकारको आनन्द प्राप्त भएको बताउनुभयो ।
कर्णाली प्रदेश सभाका सदस्य अम्बरबहादुर थापाले महाबुमा ठूलो भ्यूटावर निर्माण गर्ने तयारीमा रहेको र भ्यूटावर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने बताउनुभयो । उहाँले संविधान सभाको सदस्य हुँदा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट महाबु जाने धार्मिक पर्यटकका लागि धर्मशाला निर्माण गरेको र यसपटक भ्यूटावर बनाउने तयारी रहेको बताउनुभयो ।
महाबुमा रहेको महाबुधाम गएर आफूले मागेको वर पाउने धार्मिक विश्वासका कारण पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक महाबुमा आउने महाबुका पुजारी नगेन्द्र उपाध्यायले बत(ाउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?