logo
२०८१ मंसिर ९ आईतवार



संरक्षणको पर्खाइमा सुर्खेतको ऐतिहासिक बयलकाँडा गढी

पर्यटन |


संरक्षणको पर्खाइमा सुर्खेतको ऐतिहासिक बयलकाँडा गढी
सुर्खेतको वीरेन्द्रनगर वडा नं १४ मा रहेको भग्नाशेष बयलकाँडा गढी । तस्बिर– मुना हमाल



मुना हमाल
सुर्खेत, मङ्सिर १० गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. १४ मा रहेको बयलकाँडा गढी संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको बयलकाँडा गढीको संरक्षण र प्रचारप्रसारमा राज्यले चासो नदिँदा ओझेलमा परेको स्थानीयको गुनासो छ ।

उक्त ठाउँमा नयाँ सबुज गण कपासे ब्यारेक, सुर्खेतद्वारा ऐतिहासिक बयलकाँडा गढी लेखेको बोर्ड राखिएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले केही बजेट लगानी गरेर गढी क्षेत्रमा तारबार लगाएको छ । कतै शिलालेख तथा दस्तावेजमा नलेखिए पनि बहादुर शाहको पालामा वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको स्थानीयको विश्वास छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुन्द्री सतहदेखि एक हजार ५२२ मिटर माथि छ । गढी नजिकै बटुक भैरबको मन्दिर बनाइँदै छ ।

संरक्षण र प्रचारप्रसारमा ध्यान नदिँदा ऐतिहासिक महत्व बोकेको बयलकाँडा गढीको स्वरुप पुरिँदै गएको स्थानीयले बताएका छन् । वि.सं. २०३० सालदेखि बसोबास गर्दै आउनुभएका स्थानीय तिलकराम चालिसेले त्यस क्षेत्रमा पहिले वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्ने गराइएका पर्खालमा प्वाल देखिने गरे पनि पछिल्लो सयम सबै पुरिँदै गएको बताउनुहुन्छ । संरक्षण र प्रचारप्रसारमा देशका अन्य गढी भन्दा बयलकाँडा गढीको विषयमा कसैले चासो नदिएको उहाँको भनाइ छ । यसको संरक्षण, प्रचारप्रसार, उत्खनन् र पुनर्निर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखे पनि सोचे अनुसार परिणाम नदेखिएको उहाँले गुनासो गर्नुभयो ।

बयलकाँडा गढीको संरक्षणको विषयमा तत्कालिन गढी गाविस हुँदैदेखि छलफल हुँदै आएको छ । स्थानीयहरुले अहिले त्यहाँ रेखदेख गर्नेका लागि संरक्षण समिति बनाएका छन् । समितिको निर्वतमान अध्यक्ष समेत रहनु भएका स्थानीय दिलबहादुर खत्रीले बयलकाँडा गढीको संरक्षणमा राज्य पक्षबाट खासै ध्यान नदिएको गुनासो गर्नुभयो । राज्यले यसको उत्खनन्, पुर्ननिर्माण गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

नयाँ सबुजगण कपासे ब्यारेक, सुर्खेतले गढीको संरक्षण र प्रचारप्रसारमा पहल गरिरहेको बताएको छ । झाडीले भरिएको गढीको नेपाली सेनाले बेलाबेलामा गएर सरसफाई गर्ने गरेको छ । पृथ्वी जयन्ती, एकता दिवसलगायतका अवसरमा त्यहाँ गएर सरसफाई जस्ता कार्यक्रम गर्ने गरिएको ब्यारेकका गणपति झुलेन्द्रविक्रम बस्नेतले जानकारी दिनुभयो । गढीको विषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने समयमा दैलेखमा बनाउँदा सुर्खेतमा पनि बनाइएको हुन सक्ने अनुमान गरिएको छ ।
त्यहाँ उत्खनन् गरे केही प्रमाण फेल पर्न सक्ने ब्यारेकका गणपति बस्नेत बताउनुहुन्छ । दैेलेखमा रहेको कोतगढीसँग जोडेर यसको संरक्षण, प्रचारप्रसार गरिनुपर्ने गणपति बस्नेतले बताउनुभयो । प्रायः सबै गढीको नजिकै बढुक भैरबको मन्दिर रहने गरेको उहाँको भनाइ छ ।

पुरातत्व विभागको टोली आउँदै
बयलकाडा गढीको विषयमा अध्ययन गर्न पुरातत्व विभागबाट इन्जिनियरसहितको टोली ल्याउने तयारी भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले यही मङ्सिर महिना भित्र इन्जिनियरसहितको टोली आउने जानकारी दिनुभयो । यसको विषयमा पुरातत्व विभागबाट परामर्शपछि मात्रै त्यसैको प्रतिवेदनका आधारमा अघि बढ्ने उहाँको भनाइ छ । पुरातत्व विभागको अनुमति विना खासै केही हुन नसकिने हुँदा अहिले तारबार गरेर संरक्षण गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पर्यटन प्रवद्र्धनसँगै रोजगार सिर्जना गर्न सकिने
गढीको संरक्षण र प्रचारप्रसार गर्न सकिने आन्तरिक पर्यटनको राम्रो सम्भावना देखिन्छ । इतिहास बुझ्न, अध्ययन गर्न र अवलोकन गर्न आउने पर्यटकहरुको संख्या वृद्धिसँगै स्थानीय स्तरमा रोजगार सिर्जना हुने बताइएको छ । तर यसका लागि राज्यले चासो दिनुपर्ने स्थानीय बिरु थापा बताउनुहुन्छ । उहाँले स्थानीय नागरिकको आर्थिक आर्यआजर्नमा पनि वृद्धि गर्न सकिने बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२० लाई केन्द्रित गरेर सेनाले उक्त क्षेत्रमा कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेशको कुनै योजनामा परेन
प्रदेश राजधानीमा रहको यस गढीको संरक्षण र प्रचारप्रसारमा कुनै योजनामा परेको छैन । प्रदेश सरकारले यसको प्रचारप्रसारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । प्रदेश सरकारको गढीको विषयमा कुनै पनि योजना नभएको मन्त्रालयका योजना प्रमुख प्रकाश बस्नेतले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?