लक्ष्मण पौडेल
भैरहवा, मंङ्सिर २३ गते । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक संख्या बढेपनि उनीहरुको बसाई अवधि भने लम्बिन सकेको छैन ।
बितेको ११ महिनामा लुम्बिनी भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकहरुको संख्या १४ लाख पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार गतवर्षको तुलनामा पर्यटकहरुको संख्या सामान्य वृद्धि भएको हो ।
सन २०१९ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्या १३ लाख ८१ हजार ८ सय ४९ जना पुगेको तथ्यांक कोषले सार्वजनिक गरेको छ । जसमध्ये तेस्रो मुलुकका एक लाख ५५ हजार पाँच सय तीन जना पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक १० लाख ४९ हजार ७ सय दुई जनाले लुम्बिनी भ्रमण गरेका छन् भने एक लाख ७६ हजार ६ सय ४४ भारतीय पर्यटक यो अबधिमा लुम्बिनी अवलोकनका लागि आएका छन् ।
यो संख्या गत बर्षको सोही अबधिमा तुलनामा थोरैले बढी हो । गत वर्ष यही अवधिमा तेश्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ६२ हजार दुई सय ११ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । बर्ष २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या १४ लाख ३३ हजार एक सय १० जना थियो ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुको संख्या बढे पनि उनीहरुको बसाई अवधि भने लम्बिन सकेको छ । पर्यटकको बसाई छोंटो हुँदा पर्यटन व्यवसायबाट अपेक्षित लाभ प्राप्त हुन नसकेको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।
प्रदेश पाँच सरकारको जारी लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० संघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षा अनुसार नबढ्दा पर्यटन ब्यवसायीमा निराशा बढेको छ ।
तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरुबाट पर्यटकहरु लुम्बिनी आउँछन् ।
लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरु भने खासै उत्साहित छैनन् । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकहरुले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो ।