विष्णुप्रसाद पोखरेल
दमक, मंसिर ३० गते । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ताप्लेजुङको सुकेटार विमानस्थल उडान शुरु भएको छ । पवित्र धार्मिक स्थल पाथिभराको दर्शन गर्न चाहने पर्यटकहरुलाइ लक्षित गरेर उडान शुरु भएको बताईएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थल उडान समेत तयारी पुरा भएको जनाईएको छ ।
मुख्यगरी हजारौको संख्यामा भारतीय पर्यटकहरु पाथिभरा मन्दिरको दर्शनका लागि बर्षेनी आउने र मन्दिर दर्शनका लागि दुईदेखि तीनदिनसम्म सडक यात्रा गर्नु पर्ने अवस्था रहदै आएकोमा अब हवाइमार्ग प्रयोग गर्दा यो छोटिने छ । नागरिक उड्यन प्राधिकरण चन्द्रगढीका प्रमुख पूर्ण चूँडालका अनुसार विमानस्थलको स्तरउन्नतीसँगै पहाडि उडान पहिलो पटक सोमबारदेखि शुरु भएको हो ।
चुडालका अनुसार चन्द्रगढीबाट १७ मिनेटमा ताप्लेजुङको सुकेटार विमानस्थलमा पुग्न सकिने छ । त्यहाँबाट हेलिकप्टरमा ५ मिनेटमा मन्दिरको दर्शनका लागि पुग्न सकिने गरी पर्यटन ब्यवसायीहरुसंग मिलेर प्याकेज बनाईएको पनि उहाँले जानकारी दिनु भयो । पर्यटकले अब एकैदिनमा र केहि घण्टामा नै पाथिभरा माताको दर्शन गरेर फर्कन सक्ने अवस्था आएको छ,- उहाँले भन्नुभयो ।
सीता एयरको जहाज सोमबार विहान सुकेटार विमानस्थल उडेको हो । विगत केही दिनदेखि चन्द्रगढी विमानस्थलमै रहेर लुक्ला तथा लामिडाँडासम्मको परीक्षण उडान गरेको जनाउदै अन्य ठाँउमा पनि उडान गर्ने तयारी भइरहेको चुडालले जनाउनु भयो । पहाडीसँगै अब तत्कालै पोखरा उडान पनि हुँदैछ, उहाँले भन्नुभयो । आन्तरिक तथा भारत, बंगालादेश र भुटानबाट आएका बाह्य पर्यटकहरुले यसबाट लाभ लिने आशा गरिएको छ। उडानको प्रचारको लागि भारतको सिलगुढीस्थित सिटी सेन्टरमा सीता एयरले प्रचारका लागि स्टल नै राखेको छ ।