logo
२०८१ मंसिर ९ आईतवार



पर्यटक लोभ्याउँदै 'लाठीनाच'

पर्यटन |


पर्यटक लोभ्याउँदै 'लाठीनाच'


होमराज रानाभाट

कावासोती पुस ३ गते । पूर्वी नवलपरासीमा थारु समुदायले सञ्चालन गरेको होमस्टे पर्यटनको प्रमुख आकर्षण लाठीनाच (लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । यहाँका अमलटारी बोटे, पिप्रहर होमस्टे लगायतका होमस्टेमा पर्यटकका लागि रोजाईमा परेका छन् ।

थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका होमस्टे मा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित होमस्टेमा १५/२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत होमस्टेले पर्यटनको महत्वपूर्ण भूमिका खेलेको पिप्रहर होमस्टेका ब्यबस्थापक सोमलाल महत्तो ले बताउनुभयो । सो समुदायको परम्परागत नृत्य पर्यटक आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

लाठीनाच थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी होमस्टेका व्यवस्थापक धनिराम गुरौंले बताउनुभयो । होमस्टेमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको व्यवस्थापक गुरौँको भनाई छ ।

सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ । आफ्नो सुरक्षासहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकामा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको पिप्रहर होमस्टेका व्यवस्थापक महत्तो बताउनुहुन्छ । पछि यो नाचका रुपमा विकास हुँदै गएको कावासोतीका थारु अगुवा गणेशमान महतोले बताउनुभयो ।

अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रुपमा विकास भएको छ । ‘स्टिक डान्स’ बाट होमस्टेमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र संस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?