logo
२०८१ जेष्ठ १ मंगलवार



पर्यटकीय स्थलमा थप आकर्षण थपिँदै

पर्यटन |


पर्यटकीय स्थलमा थप आकर्षण थपिँदै


नगेन्द्र सापकोटा

भक्तपुर, पुस ४ गते । सूर्यविनायक नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नगर क्षेत्रभित्रका पर्यटकीय स्थललाई पर्यटनमैत्री बनाउने कार्य तीव्र पारेको छ । नगरपालिका क्षेत्रभित्रका करिब एक दर्जन पर्यटकीय स्थललाई थप आकर्षण गर्दै पर्यटनमैत्री बनाउन लागेको हो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नगरपालिकाले “कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार” भन्ने नारा तय गरी सोहीअनुसार पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ ।
नगरपालिकाले यसै वर्षबाट सुरु हुने गरी नगरपालिकाभित्र भएका शिव मन्दिरलाई एउटै सडक सञ्जालले जोडेर शिव सर्किट निर्माण गर्न लागेको छ । यसअन्तर्गत लटरम्मेश्वर, आशापुरी, डोलेश्वर (केदारनाथको शिर), नन्दिकेश्वर, सुवर्णेश्वर, अनन्तलिङ्गेश्वर, रामभक्तेश्वर, सोमलिङ्गेश्वर, गुप्तेश्वर र धर्मेश्वर शिव मन्दिरलाई एउटै सडक सञ्जालमा जोडिने नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
त्यस्तै काँक्राबारी हुँदै नैचाल, घ्याम्पेडाँडा, रानीकोट बाघभैरव, लाँकुरी भञ्ज्याङदेखि अन्तलिङडाँडासम्म पदमार्ग निर्माण गरिने छ । भने अन्तलिङ्गडाँडामा घरबास (होमस्टे), भ्युटावर निर्माण सुरु गरिएको छ । अहिले भग्नावशेषमा परिणत भएको मल्लकालीन दरबार रानीकोट गढीलाई पुरानै शैलीमा निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका क्षेत्रमा निर्माणाधीन जियोलोजिकल पार्क निर्माण कार्यलाई तीव्रता दिन सङ्घीय सरकारलाई आग्रह गर्ने पनि नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षमा सूर्यविनायक क्षेत्रमा भएका प्राकृतिक वस्तुको दृश्यावलोकन गराई पाँच लाख पर्यटकलाई स्वागत गर्ने गरी योजना बन्दै छ ।”
सूर्यविनाक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले नेपाल भ्रमण वर्षलाई लक्षित गरी अहिले नगरक्षेत्रका उच्च डाँडाहरूमा पर्यटकीयमैत्री संरचना धमाधम निर्माण कार्य भइरहेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?