देबबहादुर कुँबर
काठमाडौँ, पुस ५ गते । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी पर्यटकीय नगरी ठमेल क्षेत्रमा सरसफाई तथा सुधार अभियान सञ्चालन गरिएको छ ।
सरसफाईको पहिलो चरण अन्तरगत विभिन्न केवल, इन्टरनेट र टेलिफोनका तार हटाउनका साथै ढल तथा सडक मर्मत सम्भार कार्य थालिएको छ । अस्वभाविक होर्डिङ बोर्ड पनि हटाउने तयारी गरेको छ ।
ठमेल पर्यटक विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले ठमेलको मुहार मानिने ठमेलचोक र नरसिंहचोकस्थित विद्युतीय पोलमा गुजमुज्ज परेका तारहरू पूर्णरुपमा हटाइएको जानकारी दिनुभयो ।
त्यस्तैं, एक हप्ता भित्र ज्याठा क्षेत्र, त्यसपछि थहिटी–नरसिंहचोकक्षेत्र, अमृत साइन्स कलेज मार्ग, भगवतीवहाल लगायतका सडकमा विस्तारै विजुली पोलमा गुजमुज्ज परेका तारजाली हटाउने कार्यभइरहेको उहाँले बताउनुभयो ।
खाल्डा खुल्टी भएका भित्री सडकहरू कालोपत्रे गर्नका साथै ढल सफाई, होर्डिङ बोर्ड व्यवस्थापनको कार्य धमाधम भइरहेको छ । पर्यटन विकास परिषद्ले काठमाडौँ महानगरपालिका वडा नम्वर २६ र १६ संगको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो ।
पर्यटन व्यवसायीहरूका अनुसार, नेपालमा आउने कुल पर्यटक मध्ये ९० प्रतिशत पर्यटक कुनै न कुनै कामले ठमेल घुम्न आउने गर्छन् । भ्रमण वर्षमा पनि धेरै भन्दा धेरै पर्यटक आकर्षित गर्न ठमेल सरसफाई सञ्चालन गरिएको हो । तारजाली उठाउ डोजर प्रयोग गर्नुपरेको छ ।
विजुलीको लत्रिएको तार तन्काउने र मिलाउनेदेखि विभिन्न केवल, इन्टरनेट र टेलिफोनका तार हटाउने क्रममा ठमेल क्षेत्रको इन्टरनेट र टेलिफोन सेवा अवद्ध भएको छ । महानगरपालिकाले केवल, इन्टरनेट र टेलिफोन सेवा प्रदायक कम्पनीहरूलाई नयाँ तार राख्न निर्देश्न दिएको छ ।
सडकका खाल्डाखुल्डी पुर्न तथा ढल निर्माणका लागि आवश्यक उपकरण सहितको निर्माण टोली ठमेलमा खटिएको छ । अध्यक्ष राणाले भन्नुभयो–क्रिसमस डे को दिनसम्म ठमेलको स्वरुपमा नयाँ परिवर्तन ल्याउन सकिन्छ कि भन्ने अपेक्षा गरेको छौं । त्यसपछि ‘आहा ठमेल’ भन्ने अवस्था आउँछ ।
ठमेलको सरसफाई तथा सुधारका लाथि अध्यक्ष राणाका अतिरिक्त बरिष्ठ उपाध्यक्ष राजुमान डंगोल, युवा पर्यटन व्यवसायी दावाङ तामाङ लगायतका पदाधिकारीहरू स्वयम् ठमेलको सरसफाई कार्यमा खटिनु भएको छ ।
‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल, सफा र राम्रो ठमेल’ नारा दिएर सञ्चालन गरिएको सो अभियानले सडक फुटपाथमा थुक्न, चुरोट खाएर फाल्न, फोहोर हुन नदिन आवश्यक ‘डस्वीन’ राख्ने र सडक किनारा हरियाली बनाउन गमला राख्ने तयारी गरेको छ ।