logo
२०८१ मंसिर ९ आईतवार



बैतडीमा प्याराग्लाइडिङ सफल

पर्यटन |


बैतडीमा प्याराग्लाइडिङ सफल


गोकर्ण दयाल

बैतडी, पुस ७ गते । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । बैतडीको पाटन, दोगडाकेदार र गोकेलेश्वरमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताउनुभयो ।
तीन ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान बैतडीको पाटनमा सबैभन्दा राम्रो रहेको पोखराबाट बैतडी आउनुभएका प्याराग्लाइडर सागर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, बैतडीको पाटन प्याराग्लाइडिङका लागि एकदमै उपयुक्त देखियो । बैतडीको पाटन आफैँमा सुन्दर ठाउँ पनि छ । पाटनपछि दोगडाकेदार र गोकुलेश्वर पनि राम्रो देखिएको छ ।
प्याराग्लाइडिङको सफल उडानले बैतडीमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने सम्भावना बढेको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, भ्रमण वर्ष सफल पार्न बैतडीमा प्याराग्लाइडिङ, जिपलाइन र ¥याफ्टिङको काम अघि बढेको छ । दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदारको सिल्लेगडामा १३ सय मिटर जिपलाइनको डीपीआरसमेत तयार भएको छ । त्यसै गरी चमेलिया, सेती र महाकालीमा ¥याफ्टिङको तयारी भइरहेको छ ।
भ्रमण वर्ष २०२० को अवसरमा बैतडीको पाटन, ग्वाल्लेक, त्रिपुरा सुन्दरी, मेलौली, सिगास, पाताल भूमेश्वर, जगन्नाथ मन्दिर, मेलौलीलगायतका ठाउँ घुम्न लायक छन् ।
बैतडीको पाटन विमानस्थलको कालोपत्रेको काम सुरु भएकोले हवाई उडान हुन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सक्ने सम्भावना बढेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
समन्वय प्रमखु भट्टले भन्नुभयो, भ्रमण वर्ष सफल पार्न नेपाल सरकारले जुन गतिमा काम अघि बढाएको छ, त्यो गतिमा स्थानीय तह अघि बढेको देखिएन । भ्रमण वर्ष सफल पार्न केही स्थानीय तहले गुरुयोजना बनाए पनि अधिकांश स्थानीय तहले कार्यालयको लेटरपेडमा भ्रमण वर्षको लोगो
मात्रै राखेको देखियो ।
भ्रमण वर्ष २०२० मा बैतडीका कुन स्थानीय तहमा घुम्न र हेर्न लायक ठाउँ पहिचान गरेर प्रचारप्रसार गर्नुपर्ने उहाँले बताउनुभयो । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन् । भ्रमण वर्ष २०२० का लागि दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले पर्यटकीयस्थलको गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी दिएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?