logo
२०८१ मंसिर ९ आईतवार



बैंकर्सलाई पर्यटनमन्त्रीको आह्वान, ‘भ्रमण वर्षको उद्घाटनको दिन दीपावली गरौं’

पर्यटन |


बैंकर्सलाई पर्यटनमन्त्रीको आह्वान, ‘भ्रमण वर्षको उद्घाटनको दिन दीपावली गरौं’


काठमाडौं, पुस ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनका सक्रिय साथ र सहभागिताको लागि आह्वान गर्नुभएको छ । सरकारले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले पर्यटन उद्योगको नयाँ आधार तयार पार्ने मन्त्री भट्टराईको भनाई छ ।

सोमबार नेपाल भ्रमण वर्षको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले अन्तराष्ट्रिय मञ्चमा नेपाल शान्ति, समृद्धि र स्थायित्व बाटोमा लागेका सन्देश दिने बताउनुभयो । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरीका शाखा कार्यालयहरुमा दिवापली गर्न अपिल गर्नुभएको मन्त्री भट्टराईको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख  छ। 

मन्त्री भट्टराईले पर्यटनको निम्ती पूर्वाधार जरुरी रहेको उल्लेख गर्दै सरकारले हवाई पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताउनुभयो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको जानकारी दिनुभयो । उहाँले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले संघमा भ्रमण वर्षलाई सफल बनाउन संघका सहयोग रहने बताउनुभयो । मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले प्रवद्र्धनमा सहयोग गर्न सकिने सहयोग गर्ने बताउनुभयो । पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आह्वान गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?