बसन्त पराजुली
सौराहा पुस ११ गते । “बैठ (बस् )” भन्दै माउते विशाल दराईले आफ्नो हात्तीलाई बसाल्नुभयो अनि अलि चर्काे स्वरमा भन्नुभयो, “त्रिशुत (सुत)” ।
माउतेको इसारा पाएपछि हात्ती पनि सुत्यो । अनि माउते दाराईले भटाभट हात्तीको शरीरमा चित्र वनाउन थाल्नुभयो । चित्र बनाउँदै गर्दा हात्ती चलबलायो अनि फेरि उहाँले भन्नुभयो, “ र (चुप लागेर बस) ”
हात्तीको शिरिरै भरी फूल वनाएपछि उहाँलाई खै के नपुगे जस्तो लाग्यो फेरि हात्ती नजिकै गएर भन्नुभयो, “उठ्ठा (माथि उठा)” । अनि हात्तीले आफ्नो सुढले उहाँलाई उठायो । केही बेर सुँढमै लियो । त्यै मौकामा उहाँले चित्रमा नपुगेको कुरा भर्नुभयो ।
पर्यटकीय नगरी सौराहामा हात्तीको शरीरमा चित्र बनाउने प्रतिस्पर्धाका क्रममा शुक्रवार दिउँसो देखिएको दृष्य हो यो । विशालले आफ्नो पिङ्कीकली नामको हात्तीको शरीरमा चित्र बनाउनुभयो तर निक्कै कठिनका साथ । चित्र बनाउदै गर्दा उहाँले गोरखापत्रसँग भन्नुभयो, “हात्तीको शरिरमा पेन्टिङ्ग गर्ने काम सजिलो छैन ।”
“कुनै पनि भित्तामा सजिलै चित्र वनाए जस्तो हात्तीमा चित्र वनाउन सकिदैन”, उहाँको अनुभव छ, “हात्तीलाई स्थिर वनाएर मात्रै चित्र कोर्नुपर्छ । त्यो धेरै कठिन काम हो ।”
माउतेको ईसारा पाएपछि मात्रै हात्ती स्थिर हुने र त्यै मौका छोपेर शरीरमा चित्र वनाउनुपर्ने उहाँको भनाई छ ।
पर्यटकलाई हात्तीको शरिरमा चित्र वनाएर देखाउने उदेश्यले यसरी नै सौराहामा विगत सात वर्ष देखि चित्र वनाउने प्रतिस्पर्धा हुदै आएको छ । यसमा स्वंयम हात्तीका माउते नै सहभागि हुन्छन् । सौराहाका होटल ब्यवसायी दामोदर रेग्मी चित्र वनाउदा पर्यटक आर्कषण हुने तर्क गर्नुहुन्छ ।
“एका तर्फ यसले पर्यटकलाई आर्कषण त गर्छ नै यसले अझै वढी हात्ती र माउते बीचको सम्वन्ध पनि गाढा बनाउछ”, उहाँले भन्नुभयो ।
“अहिले हात्तीका शरीरमा फूल, चरा, वनजङ्गल, रुख विरुवा, हात्तीको नाम आदी लेखिन्छ । यो लेख्दा माउतेले भनेको हात्तीले कति मान्छ भन्ने पनि मूल्याङ्कन गर्न सकिन्छ”, उहाँले अगाडि थप्नुभयो, “चित्र भनेको एउटा प्रकृति हो प्रकृतिसँग मान्छेलाई जोड्ने काम यसले गरेको छ ।”
पर्यटन वर्ष २०२० कै अवसरमा आयोजना गरिएका हुनाले पनि कतिपय हात्तीमा पर्यटन वर्ष २०२० पनि लेखेर चित्र वनाइएको थियो भने कति हात्तीको नाम लेखिएका थिए ।
हात्तीको शरिरमा चित्र बनाउने क्रममा प्रतियोगी हात्ती र माउतेको सरसफाई, हात्तीको नङ काटे नकाटेको, आँखामा गाजल लगाए नलगाएको, पुश्छर सफा गरे नगरिएको, हात्ती चिल्लो र फुस्रो के छ ? हात्तीको चाल, अनुशासन जस्ता कुरामा पनि निर्णयका आधार वनाइएका थिए । तीन सदस्यीय निर्णायक मध्येका एक कृष्ण चौधरी यस्ता प्रतिस्पर्धाले हात्तीलाई सजाउने र माउते आफै सजिने मौका मिल्ने वताउनुहुन्छ ।
“हात्ती मान्छेकै साथी हो भन्ने चिनाउन पनि यस्ता गतिविधिले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
हात्ती र मान्छेको सम्वन्ध परापूर्व कालदेखि नै रहेको देखिन्छ । हात्ती महोत्सवको उद्घाटनका क्रममा पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको थियो, “हात्ती र मान्छेबीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्दै पर्यटनको विकासमा भै रहेको राम्रो पहल देशकै लागि साहरनिय छ । हात्ती र मान्छेको संम्वन्ध ईतिहास देखिकै भएकाले हात्तीलाई उद्यम शिल ब्यवसायमा लगाउनु राम्रो हो ।”
यसैविच हात्तीको शरिरमा चित्र वनाउने प्रतिस्पर्धामा इच्छाकली प्रथम, जयमती कली द्धितिय र वम्पीङकली तृतीय भएका छन् । प्रतिस्पर्धामा पिक्कीकली भने सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो । विजेता हात्ती र उसका माउतेलाई हात्ती महोत्सवको समापन कार्यक्रममा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।