logo
२०८१ मंसिर ९ आईतवार



मुख्यमन्त्री बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारीमा

पर्यटन |


मुख्यमन्त्री बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारीमा


सिराजुद्दिन खान

नेपालगञ्ज, पुस १६ गते । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले बाह्रय पर्यटन प्रर्वद्धनका लागि आन्तरिक पर्यटनको प्रर्वद्धन आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो– विदशी पर्यटकलाई बढी भन्दा बढी आकर्षित गर्न र धेरै दिन टिकाउन आन्तरिक पर्यटनको प्रर्वद्धन आवश्यक छ, सोही कारणले प्रदेश सरकारले आन्तरिक पर्यटनको प्रर्वद्धन र विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।

नेपाल भ्रमण बर्ष २०२० शुभारम्भको अवसरमा बुधबार विहान बाँके राष्ट्रिय निकुञ्जको खड्गवारमा हात्ती सफारीको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आन्तरिक र बाह्रय पर्यटक भित्रयाउन तथा उनिहरुको बसाई लम्ब्याउन पर्यटकीय गन्तव्यहरुको निर्माण र विकासमा विशेष जोड दिईएको बताउनुभयो ।

बर्दिया र बाँके निकुञ्ज, कैलाश मानसरोवर यात्रा तथा अन्य स्थानमा जानका लागि बाँके प्रमुख बिन्दु भएकोले यो जिल्ला यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो ।

पर्यटनस्थलहरुमा आन्तरिक पर्यटकको संख्या बृद्धि गरेर विदेशी पर्यटकको आगमनलाई दोब्बर पार्ने उदेश्यले नेपाल भ्रमण बर्ष २०२० मनाउन थालिएको जनाउँदै उहाँले देशको पर्यटन विकासका लागि भ्रमण बर्ष कोशे ढुंगा सावित हुने बताउनुभयो ।

विशेष गरेर भारतीय पर्यटक तथा आन्तरिक पर्यटकको आगमनलाई बढाउन बाँके राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको जनाउँदै उहाँले हात्ती सफारी र जिप सफारीले पर्यटक तान्न अहम भूमिका खेल्ने बताउनुभयो ।

‘विश्वमै दुर्लभ मानिएका पाटे बाघहरु धेरै रहेको यो निकुञ्जमा देश विदेशबाट धेरै ठुलो संख्यामा पर्यटक भित्रयाउने संभावना रहेको छ, यस संभावनालाई कार्यान्वयन गर्न सबैको ध्यान जानु जरुरी छ’–उहाँले भन्नुभयो ।

होटल पूर्वाधारका क्षेत्रमा बाँके धेरै अगाडी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यहाँका होटलहरुले भारतीय पर्यटक आकर्षित गर्ने विभिन्न प्याकेज निर्माण गरेर नेपालगञ्जलाई रारा, जुम्ला, बर्दियाको ठाकुरद्धारा र बाँके निकुञ्जसँग जोड्नु पर्ने सुझाव दिनुभयो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि हरेक नेपालीले आफ्नो नजिकका पर्यटकीय गन्तव्यमा परिवारसहित घुम्ने योजना बनाउनु पर्ने आग्रह गर्दै उहाँले त्यसले आन्तरिक पर्यटनको प्रर्वद्धनमा ठुलो टेवा पुर्याउने बताउनुभयो ।

सो अवसरमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जका बारेमा जानकारी गराउनु भएको थियो ।

हात्तीसफारीको उद्घाटनपछि मुख्यमन्त्री पोखरेलसंगै प्रदेश पाँचका उद्योग वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश पाँचको अर्थ उद्योग र पर्यटन समितिका सभापति दधिराम न्यौपाने, प्रदेश सचेतक भूमिश्वर ढकाल, संघिय सांसदहरु महेश्वर गहतराज अथक र सुजिता शाक्य, प्रदेससभाका सभासदहरु कृष्णा केसी नमुना र बाबुराम ढकाल लगायतले हात्ती सफारी पनि गर्नु भएको थियो ।

यसअघि मुख्यमन्त्री पोखरेलले मंगलवार राती १२ बजे नेपालगञ्जस्थित सिद्धार्थ भ्यू होटलमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्नु भएको थियो । सो अवसरमा उहाँले स्वदेशी र विदेशी पर्यटक बढाउने उदेश्यले भ्रमण बर्ष मनाउन लागिएको बताउनु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?