logo
२०८१ मंसिर ९ आईतवार



प्याराग्लाइडिङको तयारी

पर्यटन |


प्याराग्लाइडिङको तयारी


भक्तिविलास पोखरेल

गाईघाट, पुस १७ गते । भ्रमण वर्ष २०२० लाई लक्षित गरी उदयपुरको बेलका नगरपालिकाले साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ उडानको तयारी गरेको छ । बेलका नगरपालिका ८ स्थित बोप्लाङ डाँडाबाट प्याराग्लाइडिङका लागि आवश्यक तयारी पूरा गरेकोे नगर प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।
नगर प्रमुख थापाले सप्तकोसीको मनोरम दृश्यसँगै उडानस्थलको डाँडाबाट सोमबारेस्थित ल्यान्डिङ स्थलसम्म छर्लङ्ग देख्न सकिने र त्यसका लागि परीक्षण उडान सफल भइसकेको बताउनुभयो ।
नगरपालिकाले प्याराग्लाइडिङ उडानका लागि आवश्यक तयारी गर्न स्थानीय बेलका पर्यटन विकास समिति मार्फत करिब १५ लाख रुपियाँ खर्च गरी उडानस्थल र ल्यान्डिङस्थलको तयारी पूरा गर्नुका साथै करिब एक करोड रुपियाँको लागतमा सोमबारेदेखि बोताङ सम्मको मोटरबाटो निर्माण सम्पन्न गरी यसअघि नै सञ्चालनमा ल्याइसकेकोे छ ।
नेपाली सेनाको पूर्वी पृतनाले बेलकाको यसै स्थलबाट २६ जवानलाई प्याराग्लाइडिङको पाइलट तालिम सम्पन्न गरी हालै पहिलो ब्याच उत्पादन गरेको तथा बूढासुब्बा प्याराग्लाइडिङ धरान सुनसरी र बेलका नगरपालिकाको साझेदारीमा यसअघि नै १६ जनालाई स्लो पाइलट तालिम दिई आवश्यक जनशक्तिसमेत तयार पारिएको नगर प्रमुख थापाले बताउनुभयो ।
बेलकाको आकाश र यहाँको क्षेत्र सुरक्षित भएकै कारण नेपाली सेनाले प्याराग्लाइडिङको नयाँ खोजमा सहयोग गर्न यहाँ तालिम दिएको जनाइएको छ । एसियन प्याराग्लाइडिङ एसोसिएसनको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश–१ को समन्वयमा गत साउनमा भएको पाइलट तालिम भएको हो ।
नगर प्रमुख थापाका अनुसार स्थानीय तहले प्राविधिक र भौगोलिक सहजतासँगै बेलकामा प्याराग्लाइडिङ स्कुलसमेत सञ्चालनका लागि नेफालाई जग्गा दिएर थप सहज बनाइएको छ । प्याराग्लाइडिङ स्कुल सञ्चालनका लागि बेलका नगरपालिका–८ मैनामैनी वोप्लाङ डाँडामा चारकट्ठा र प्याराग्लाइडिङ ल्यान्डिङका लागि सप्तकोसी किनारास्थित सोमबारे डुम्रिबोट–७ मा २५ बिघा जग्गा उपलब्ध गराइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?