logo
२०८१ मंसिर ९ आईतवार



म्यान्माका पर्यटनमन्त्री लुम्बिनीमा   

पर्यटन |


म्यान्माका पर्यटनमन्त्री लुम्बिनीमा   



रुपन्देही, पुस १७ गते । म्यान्माका पर्यटनमन्त्री अन मोङले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि म्यान्मा सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताउनुभएको छ ।    
    
लुम्बिनीको अवलोकन भ्रमणपछि आज यहाँ आयोजित छलफलमा उहाँले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने बताउनुभयो ।    
    
बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी म्यान्माका नागरिकको आस्थाको केन्द्र भएको चर्चा गर्दै पर्यटनमन्त्री मोङले म्यान्माका नागरिक लुम्बिनी आउन उत्सुक रहेको जानकारी दिनुभयो ।    
    
नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा काठमाडौँ आउनुभएका पर्र्यटनमन्त्री मोङसहित कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुलसहित नौ जना उच्चस्तरीय सरकारी अधिकारीको टोली लुम्बिनी आउनुभएको थियो ।    
    
नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउनुभएको पर्यटनमन्त्री मोङसहितको टोलीलाई प्रदेश नं. ५ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले ढाका टोपी लगाइदिएर स्वागत गर्नुभयो । यस्तै लुम्बिनी विकास कोषका तर्फबाट निमित्त सदस्य सचिव सरोज भट्टराईसहित कोषका कर्मचारीले स्वागत गर्नुभएको थियो ।    
    
सो अवसरमा मन्त्री गिरीले म्यान्मा र लुम्बिनीको साँस्कृतिक र धार्मिक सम्बन्ध रहेकाले पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको जानकारी गराउनुभयो ।    
    
म्यान्माका मन्त्री मोङ, मन्त्री गिरी तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीले मायादेवी मन्दिरको दर्शन गरी बोधिवृक्ष परिसरमा बुद्ध पूजा गर्नुभयो ।    
    
पर्यटनमन्त्री मोङले लुम्बिनी विकास कोषको गुरुयोजनाबारे चासो राख्नुभएको थियो । उहाँसहित उच्चस्तरीय सरकारी अधिकारीको टोलीलाई लुम्बिनी विकास कोषको गुरुयोजना र भइरहेका कामबारे जानकारी गराउँदै जनसम्पर्क अधिकृत हरिध्वज राईले तीन वर्षभित्रमा गुरुयोजना पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?