तारा चापागाईं
कास्की, पुस १८ गते । नेपाल ट्रस्ट मातहतको पोखरास्थित पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको रत्न मन्दिर र हिमागृह व्यावसायिक प्रयोजनका लागि भाडामा दिने हल्ला चलिरहेका बेला गण्डकी प्रदेश सरकारले भने यही वर्ष सर्वसाधारणका लागि खुला हुने दाबी गरेको छ ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा अवस्थित फेवा ताल किनारमा रहेका दुवै स्थान नेपाल ट्रस्टले भाडामा दिने हल्ला चलेसँगै स्थानीय पर्यटन व्यवसायीले यसको विरोध गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गरी सर्वसाधारणका लागि खुला गर्नुपर्ने र कुन पनि हालतमा भाडामा दिन नहुने बताउँदै आएका छन् ।
यसअघि नेपाल सरकारले रत्न मन्दिरमा पाँचतारे होटल बनाउने निर्णय गरेको समाचार आएसँगै पोखरामा त्यसको चौतर्फी विरोधपछि सरकार र पोखरेलीबीच पटकपटक भएको छलफलपछि जैविक विविधता पार्कसँगै सङ्ग्रहालय बनाउने निर्णय भएको थियो । नेपाल सरकारले २० लाख पर्यटक भिœयाउने गरी घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को सुरुसँगै सर्वसाधारणका लागि खुला हुने हल्लासमेत चलेको थियो तर खुला भने हुन सकेन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यही वर्ष रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला हुने बताउनुहुन्छ । नेपाल ट्रस्टका अध्यक्षसमेत रहनुभएका नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग यसबारे कुरा भइरहेको र जनवरी १ गतेबाट खुल्ने भने पनि केही प्राविधिक समस्याका कारण खुल्न नसकेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले दुवै स्थान सर्वसाधारणका लागि खुला गर्नका लागि आवश्यक काम सुरु भएको र यसका लागि केही समय लाग्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्न मन्दिर र हिमागृह छिटोभन्दा छिटो सर्वसाधारणका लागि खुला गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
यस्तो छ रत्न मन्दिर
राजा महेन्द्रले भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेको ठाउँ मन परेपछि आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी बनाएको रत्न मन्दिरलाई पूर्व राजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्दै आएको थियो । स्थानीयसँग जग्गा किनेर १११ रोपनी जग्गामा वि. सं. २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको थियो ।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बङ्गला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् । राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचर पनि छन् । उतिबेला पोखरामा होटल थिएनन् । दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गर्दथ्यो ।
हिमागृह
रत्न मन्दिरभन्दा केही पूर्वमा छ, हिमागृह । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमागृह
बनेको थियो ।