शिवकुमार काशी
हेटौँडा, पुस १८ गते । सरकारले अंग्रेजी वर्ष २०२० लाई धुमधामका साथ पर्यटन वर्ष घोषणा गरी मनाइरहँदा मकवानपुरको राक्सिराङस्थित चेपाङ संग्रहालय भने सुनसान छ ।
संग्रहालयमा अध्ययन अवलोकनकालागि थप सामग्री नथपिएको र उचित प्रचारप्रसार समेत नभएका कारण अवलोकनकर्ता अत्यन्त न्यून मात्रामा पुग्ने गरेका छन् । पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट ६ किलोमिटर उत्तरपूर्वमा पर्ने राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरले संग्रहालय स्थापना गरेको हो । संघीय संरचना बमोजिम स्थानीय निकायको विभाजन भएपछि संग्रहालयको व्यवस्थापन राक्सिराङ गाउँपालिकाले गरिरहेको छ ।
संग्रहालयमा चेपाङ जातिको पहिचान झल्किने भेषभुषासहित चेपाङले प्रयोग गर्ने एकपाखे ढ्यांग्रो, माछा मार्न प्रयोग हुने जाल, बल्छी, फुर्लुङ, जनावर शिकारका लागि प्रयोग हुने धनुषकाँड तथा खाद्यवस्तुको रुपमा प्रयोग हुने गिट्ठा, भ्याकुर, चिउरी लगायतका बस्तुहरु सुरक्षित गरिएको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष पूर्णबहादुर प्रजा (चेपाङ)ले बताउनुभयो ।
२०७२ सालको भूकम्पका कारण संग्रहालय राखिएको भवन भत्किएपछि मर्मत गरेर काम चलाइएको छ । प्रचारप्रसारको अभाव भएकाले संग्रहालयमा अवलोकनकर्ता कम मात्रामा आइरहेको अध्यक्ष चेपाङले बताउनुभयो ।
चेपाङको जीवन झल्किने सामग्रीहरु संग्रहालयमा राखिएको भए पनि उचित प्रचारप्रसारको अभाव तथा नयाँ सामग्रीहरु थप गर्न नसकिएकाले चेपाङ संग्रहालय ओझेलमा परेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार संग्रहालयमा वार्षिक दुईसय जनाको हाराहारीमा संग्रहालय अवलोकनका लागि मानिसहरु आउने गर्छन् । गाउँपालिकाको तर्फबाट संग्रहालयका लागि एकजना कर्मचारीको व्यवस्था गरिएको छ ।
चालू आर्थिक बर्षमा चेपाङ समुदायको विकासका लागि गाउँपालिको १५ लाख रुपियाँ बिनियोजन गरी चेपाङ विकास समन्वय समिति गठन गरी परिचालन गर्ने क्रममा रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । समितिले संग्रहालय सुधारका लागि केही काम अघि बढाउने भए पनि पर्याप्त नहुने भएकाले आगामी आर्थिक बर्षका लागि संग्रहालय व्यवस्थित गर्नेगरी बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर अघि बढ्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । नयाँ भवन र सामग्रीहरुसहितको डिपीआरको तयारी अन्तिममा पुगेको गाउँपालिकाले जनाएको छ ।
मकवानपुर, चितवन, धादिङ, गोरखा, लमजुङ र तनहूँमा बसोबास रहेको चेपाङको पहिचान झल्काउने संग्रहालय चेपाङको उद्गमस्थलमा स्थापना भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्नेगरेको छ । बाटोको असुविधाका कारण मानिसहरु कम मात्रामा आउनेगरेको भएपनि अब बाटोको समस्या नहुने अध्यक्ष मल्लले बताउनुभयो । मनहरी बजारबाट चैनपुर पुग्ने ६ किमी खण्डमा प्रदेश सरकारले पिच गर्नेगरी सडक योजना अघि बढाएको छ ।