logo
२०८१ मंसिर ९ आईतवार



रैथाने चराको गणना गरिदै

पर्यटन |


रैथाने चराको गणना गरिदै


गोकर्ण पौडेल

तुलसीपुर पुस २१ गते । दाङ जिल्लाको सीमसार क्षेत्रमा बसोबास गर्ने रैथाने जातका चराको गणना सुरु गरिएको छ । वातावरणको क्षेत्रका काम गरिरहेको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रले गणना सुरु गरेको हो । पर्यटन वर्ष सन् २०२०लाई मध्यनजर गर्दै सुक्ष्म ढंगले गणनाको काम अघि बढाएको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाको रामपुरमा रहेको चरिङ्गे दह, चेपे ड्याम र ढिकपुरमा रहेको दुन्द्रा तालमा चराको गणना गरिएको छ । गणनाका क्रममा रामपुरको चरिङ्गे दहमा सरकारद्वारा संरक्षित गरिएको सेतो गरुड फेला परेको अध्यक्ष रावतले जानकारी दिनुभयो । सीमसार क्षेत्रमा सेतो बकुल्ला, हुट्टिट्याउ सीम चल्ला फेला परेका छन् । रामपुरको चरिङ्गे दहमा गुलेली लिएर चरा मार्न लागेका तीन जना बालकहरुको गुलेली जफत गरी स्थानीय शिक्षक कमल पोख्रेललाई तीन वटा गुलेली जिम्मा लगाइएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० ढिकपुरमा रहेको दुन्द्रा तालमा चीन, साइबेरियाबाट जाडो मौसममा चराहरु गतवर्ष आउने गरेकोमा यस वर्ष गणनाका क्रममा फेला नपरेको बताइएको छ । दुन्द्रा तालमा विशेष गरेर बटुक हाँस पाइने गरेकोमा यस वर्ष चोरी सिकारीका कारण लोप भएको हुन सक्ने अध्यक्ष रावतले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिमा पर्ने शितलपुर बबई नदीमा समेत चराको गणना गरिने भएको छ । पर्यटन वर्ष सन् २०२० कै अवसर पारेर तेस्रो मुुलुकबाट माघको पहिलो पर्यटकहरु तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्यालापानीमा रहेका जटायु रेष्टुरेन्ट अवलोकनका लागि आउन थालेको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । पर्यटकहरुका लागि केन्द्रले बसोबासको व्यवस्था समेत गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊ तुलसीपुर अभियानमा जटायु रेष्टुरेन्ट र सीमसार क्षेत्र शितलपुर समेटेको छैन । तेस्रो मुलुकका पर्यटकहरु मठमन्दिरभन्दा चराचुरु्गी अवलोकनका लागि आउँछन तर सम्बन्धित निकायले यसतर्फ खास चासो दिएको पाइदैन अध्यक्ष रावतले जानकारी दिनुभयो । दाङ जिल्लामा आठ प्रजातिका गिद्ध पाइन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?