वसन्त पराजुली
भरतपुर, माघ २ गते । चितवनको पर्यटन विकासका लागि त्रिशूली र नारायणी नदीमा जलयात्रासहितको धार्मिक पर्यटन ‘न्यु प्रोडक्ट’ हुनसक्ने सम्भावना देखिएको छ । देवघाटलाई केन्द्र बनाएर मनकामनादेखि वाल्मीकि आश्रमलाई जोडेर ¥याफ्टिङसहितको ‘टुर प्याकेज’ गराउन सके धार्मिक पर्यटनमा न्यु प्रोडक्ट निस्कने विज्ञहरूले औँल्याएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको पर्यटन विकासका ‘न्यु प्रोडक्ट’ को खोजी भइरहेका बेला जलयात्रासहितको टुर प्याकेज बनाउन सरोकार निकायको ध्यान पुग्नुपर्ने सुझाव पर्यटन विज्ञ विश्वराज सुवेदीको छ ।
“जलमार्गसहितको धार्मिक पर्यटनको सम्भावना छ तर पनि त्यसतर्फ ध्यान जान सकेको छैन”, पर्यटनविज्ञ सुवेदीले थप्नुभयो, “मनकामनाको फेरीदेखि देवघाटसम्म त्रिशूली नदीमा र देवघाटदेखि वाल्मीकि आश्रमसम्म नारायणी नदीमा जलयात्राको विकास गर्न सकिने सम्भावना छ । यसले धार्मिक क्षेत्रलाई जोड्न र धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पु¥याउने छ । ”
मनकामना फेरीबाट देवघाट ४० किलोमिटर र देवघाटवाट त्रिवेणी ३५ किलोमिटरको जलयात्राको दूरी हो । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेल धार्मिक पर्यटनको प्रवद्र्धनका लागि पनि यो मनकामनादेखि वाल्मीकिसम्म जोड्ने रुट बनाउनुपर्ने धारणा राख्नुहुन्छ ।
“मनकामनाको मन्दिरबाट केबुलकारमा हरर हानिएका पर्यटकलाई त्रिशूलीको ¥याफ्टिङमा सरर देवघाट ल्याउन सकिन्छ । देवघाटमा एक वा दुई दिन राखेर यस वरपरका धार्मिक क्षेत्रको अवलोकनपछि पुनः नारायणीमा जलयात्रा गराएर त्रिवेणी पु¥याउन सकिने सम्भावना छ”, पौडेलले भन्नुभयो, “नारायणीमा जलयात्राका क्रममा त्यहाँ देखिने जलचर, चितवन निकुञ्जभित्रका बाघ, गैँडाजस्ता जङ्गली जनावर र चराचुरुङ्गीले कसको पो मन नलोभ्याउला र ? अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वाक’ गर्दै वाल्मीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ । ” देवघाट चितवन, तनहँु र नवलपरासीको सीमा क्षेत्रमा पर्छ तर यो क्षेत्रमा पुग्न चितवनकै बाटो भएर जानुपर्छ ।
देवघाट धार्मिक रूपमा देश विदेशमै परिचित स्थान हो । यहाँ माघेसङ्क्रान्तिका दिनमा स्नान गरे मोक्ष मिल्छ भन्ने विश्वास छ । बेनी, सीता भासिएको गुफा, धार्मिक पार्क, पाञ्चायन मन्दिर, गलेश्वर आश्रम यहाँका रमणीय धार्मिक स्थल हुन् । पछिल्लो समय साउनको सोमबार देवघाटमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
गोरखामा रहेको मनकाना देवीलाई भगवती र पार्वतीको स्वरूपका रूपमा लिइन्छ तर यहाँ पुग्न चितवनको कुरिनटारबाट केबुलकारको सुविधा छ । हजारौँ स्वदेशी धर्मालवम्बी यहाँ दैनिक दर्शन गर्न आउँछन् ।
वाल्मीकि आश्रम ऋषि वाल्मीकिले रामायण लेखेको र लवकुश हुर्काएको क्षेत्र हो । यो चितवनकै भूमि भएर यस क्षेत्रमा पुग्न नवलपरासीको त्रिवेणी हुँदै भारत भएर पुग्नुपर्ने बाध्यता छ ।
यी तीनै क्षेत्र धार्मिक रूपमा अति महìवपूर्ण मानिन्छन् । यी क्षेत्र जोडेर ‘धार्मिक पर्यटन रुट’ बनाउन सकिने हो भने धार्मिक मात्रै हैन अन्य स्वदेशी तथा विदेशी पर्यटकलाईसमेत लोभ्याउन सकिने देखिन्छ । विज्ञ सुवेदी भन्नुहुन्छ, “धार्मिक र जलयात्रामा आधारित पर्यटनको विकासका लागि संस्थागत रूपमा स्थानीय सरकारहरूले योजना अगाडि
बढाउन सक्नुपर्छ । ”
उसो त नारायणी नदीमा जलयात्राका लागि मिनी पानीजहाज क्रुज सञ्चालनको तयारी भइरहेका बेला यो पनि पर्यटनका लागि नयाँ प्रोडक्ट हो । पानीको बहावकै कारण देवघाटभन्दा माथि त्रिशूली नदीमा क्रुज चलाउन नसक्ने प्राविधिक कठिनाइ छ । यसका लागि त्रिशूलीमा ¥याफ्टिङ
प्रभावकारी हुनसक्छ ।
नारायणी र त्रिशूलीमा हुने जलयात्राले मनकामना, देवघाट र वाल्मीकि आश्रमलाई जोड्न सक्ने हो भने चितवनको पर्यटन प्रवद्र्धनमा समेत टेवा त पुग्छ नै यसले नेपाल भ्रमण वर्ष २०२० लाईसमेत सफल बनाउन सहयोग पुग्ने देखिन्छ ।